कात्तिक ९, काठमाडौं । असंलग्न आन्दोलन(नाम)को यहाँ जारी १८औँ शिखर सम्मेलनका क्रममा भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मदुरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बाकु कन्भेन्शन सेण्टरमा भेटवार्ता भएको छ।
सो अवसरमा प्रधानमन्त्री ओलीले तीन वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गर्नुभएकामा राष्ट्रपति मदुरोलाई धन्यवाद दिए। उनीहरुबीच आपसी चासोका विषयमा पनि छलफल भएको थियो।
शिखर सम्मेलनमा भारतको नेतृत्व गर्नुभएका भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि शुक्रबार नै भेटवार्ता भयो।
सो अवसरमा उनीहरुबीच द्विपक्षीय हित र नामका विविध पक्षमा छलफल भयो।
यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज केन्याका उपविदेशमन्त्री अबाबु नामवाम्बाले नाम शिखर सम्मेलनका क्रममा भेट गरे।
नाम सम्मेलन शुक्रबार नै राजधानी बाकुको बाकु कन्भेन्शन सेन्टरको अडिटोरियममा शुरु भएको हो। सम्मेलनका आजै उद्घाटन, नामका नयाँ अध्यक्षको निर्वाचन र बाङडु सिद्धान्तको पालना विषयमा मन्तव्य व्यक्त गरिएको थियो।
(राससका विशेष प्रतिनिधि मनोज कार्की )
प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन(नाम)को जारी १८औँ शिखर सम्मेलनका सहभागीहरुको सम्मानमा आयोजित रात्रिभोजमा सरीक भएका छन् । अजरबैजानका राष्ट्रपति इलहाम एलिएभले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा सो भोज आयोजना गरेका थिए ।
सम्मेलन राजधानी बाकुको बाकु कन्भेन्शन सेन्टरको अडिटोरियममा शुरु भएको हो । सम्मेलनका उद्घाटनपछि, नामका नयाँ अध्यक्षको निर्वाचन र बाङड्ङ सिद्धान्तको पालना विषयमा मन्तव्य व्यक्त गरिएको थियो ।