कार्तिक १७, काठमाडौं । संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबारदेखि औपचारिक रुपमा थुनछेक बहस सुरु हुँदैछ ।
गएको शुक्रबार जिल्ला अदालत काठमाडौँमा बलात्कार प्रयासकाे आरोप लागेका महराको बयान भएको थियो । समय अभावका कारण सो दिन थुनछेक बहस सुरु हुन सकेको थिएन ।
आइतबारदेखि भने महरालाई थुनामै राखेर मुद्दाको थप कारवाही अघि बढाउने वा उनलाई धरौटीमा छोड्ने भन्ने विषयमा जिल्ला अदालत काठमाडौँमा बहस हुनेछ ।
जिल्ला अदालतका काठमाडौँका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा थुनछेक बहस हुनेछ । गएको बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले करणी प्रयासको अभियोगमा साढे सात वर्ष जेल सजायको दाबीसहित महरा विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
शुक्रबार अदालतले लिएको बयानमा महराले यसअघि प्रहरी समक्ष दिएको बयान जस्तै घटना भएको भनिएको दिनमा आफू तीनकुने क्षेत्रमा पुगेको तर रोशनी शाहीको घरमा नपसेका बताएका थिए । यस्तै आफूले विगत लामो समयदेखि मादकपदार्थ सेवन गर्न छोडेको समेत बताएका छन् ।
महराले प्रहरी समक्ष जस्तै अदालत समक्ष पनि आफूमाथि लागेको आरोप पूर्ण रुपमा अस्वीकार गरेका छन् । शुक्रबार बयान लिइएकाले आइतबार बहस सुरु गर्दै सरकारी वकिलले पीडित महिलाको पक्षबाट वकालत गर्ने छन् । त्यसपछि महरा पक्षका वकिलहरुले बहस गर्ने छन् । महराको पक्षमा बहस गर्नका लागि शुक्रबारसम्म ३० भन्दा बढी वकिलहरुले नाम लेखाएका छन् ।
महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाएकी हुन् । महराले आफूमाथि असोज १२ गते बलात्कारको प्रयास गरेको भन्दै आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएकी थिइन् ।
त्यसपछि महरालाई प्रहरीले असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो । महरामाथि बलात्कार प्रयासको आरोप लगाउने महिलाको भिडियो अन्तर्वार्तासहितको समाचार असोज १४ गते सार्वजनिक भएको थियो । आरोप अस्वीकार गरेका महराले असोज १५ गते सभामुखबाट राजीनामा दिएका थिए ।