मंसिर २९,काठमाडौँ । नेपाल वायुसेवा निगमले जापानको नारिता र चीनको ग्वानझाउमा उडान गर्ने भएको छ । मंसिर २६ गते बसेको निगमको कार्यकारी समितिको बैठकले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर दुई नयाँ गन्तव्यमा उडान गर्ने निर्णय गरेको हो ।
निगमले अहिले जापानको ओसाकामा उडान गरिरहेको छ तर त्यहाँ भन्दा धेरै नारिताबाट यात्रु पाउने अपेक्षा छ । यस्तै लामो समयदेखि चीन उडान गर्ने तयारी गरे पनि असफल भएको निगमले ग्वानझाउमा पनि उडान गर्ने भएको हो ।
जस अनुसार जापानको नारिता मार्चको पहिलो साताबाट र चीनको ग्वानझाउ मार्चको दोश्रो साता उडान गर्ने भएको छ । यी उडान थपिएपछि पर्यटकहरुको संख्यामा उल्लेखनीय वृद्धि हुनुको साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्ने निगमले दावी गरेको छ ।
यी दुई गन्तव्यको उडान थपिएपछि ए ३२० न्यारोबडी र ए ३३० वाइडबडीले उडान घण्टामा वृद्धि गर्नेछन् ।
यसपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वानझाउ, भारतको दिल्ली, बेंगलोर,मुम्बई, बैंकक, मलेसिया, दुबई, दोहा र हङकङ गरी अन्तर्राष्ट्रिय स्तरमा १० गन्तव्य हुनेछन् ।
निगमसँग हाल दुई ए३२० न्यारोबडी र दुई ए ३३० वाइडबडी विमानहरु रहेका छन् । निगमले विमानहरुको उडान घण्टाको आधारमा अन्य गन्तव्य विस्तारमा जवाफदेहितापूर्ण र उच्च सक्रियताका साथ क्रियाशील हुने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरेको छ ।