माघ ७, काठमाण्डौ । विश्वमा धनी झन् धेरै धनी र गरिब झन् गरिब हुँदै गएका छन् । विश्वका सात अर्ब जनतासँग भन्दा दोब्बर सम्पत्ति जम्मा एक प्रतिशत धनाढ्यले बटुलेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । त्यस्तै विश्वका अगुवा २२ धनाढ्य पुरुषसँग अफ्रिकाको सम्पूर्ण २२ करोड ६० लाख महिलाको भन्दा बढी सम्पत्ति छ ।
विश्वव्यापी गरिबी निवारणमा क्रियाशील संस्था अक्सफाम इन्टरनेशनलको प्रतिवेदनअनुसार विश्वका दुई हजार एक सय ५३ जना अर्बपतिसँग संसारभरिका चार अर्ब ६० करोड मानिससँग भएको भन्दा बढी सम्पत्ति छ । स्विट्जरल्यान्डको डाभोसमा हुन लागेको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनअघि अक्सफामले सार्वजनिक गरेको असमानतासम्बन्धी वार्षीक प्रतिवेदनले यस वर्ष आर्थिक असमानता अझ फराकिलो भएको देखाएको छ ।
अक्सफामको प्रतिवेदनमा विश्वका शीर्ष एक प्रतिशत धनाढ्यसँग अन्य ६ अर्ब ९० करोड मानिससँग भएकोभन्दा दोब्बर सम्पत्ति रहेको छ । प्रतिवेदनले यस्तो विकराल आर्थिक असमानताको लागि लैँगिक विभेद जिम्मेवार रहेको उल्लेख गरेको छ ।