माघ २१, नुवाकोट । शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले गल्छि तिनपिप्ले सडकको निर्माणसँगै कोल्पुखोलादेखि चाउथेफाँटसम्म नयाँ शहर बसाउन सकिने उल्लेख गरेका छन् । मन्त्री मानन्धरले कोल्पुमा नयाँ शहर निर्माणका लागि पहल थाल्ने पनि बताए । काठमाडौं उपत्यकाबाट नजिक रहेकाले पनि यो क्षेत्रमा नयाँ शहर निर्माण सम्भव रहेको बताउँदै मन्त्री मानन्धरले शहरीकरणका लागि आवश्यक पुर्वाधार निर्माणका लागि नीतिगत निर्णय गरेर अघि बढ्न सकिने बताए ।
नयाँ शहरका लागि आवश्यक विद्युतिकरण, अस्पताल, विद्यालय, खेलकुद मैदान, पार्क र औद्योगिक विकासका लागि पनि एकिकृत रुपमा पहल थालिनुपर्नेमा जोड दिँदै वर्तमान सरकारले पुर्वाधार सहितको विकास गर्ने बताए । नुवाकोटको बन्चरेडाँडा(चाउथे सडकको अवलोकनका लागि पुगेका मन्त्री मानन्धरले चीनको केरुङबाट आउने अन्तर्राष्ट्रिय राजमार्गको गल्छिदेखि काठमाडौं उपत्यका प्रवेश गर्न छोटो दुरी पर्ने गल्छि(चाउथे(तिनपिप्ले(बालाजु सडक निर्माणलाई आफुले प्राथमिकता दिने बताए ।
धादिङको नौबिसे र नुवाकोटको छहरेमा निर्माण हुने सुरुङ मार्गका कारण यो क्षेत्रको विकासले गति लिने बताउँदै चीनको केरुङ नाका मार्फत् हुने आर्थिक गतिविधिको प्रत्यक्ष लाभ लिन सकिने मन्त्री मानन्धरको तर्क छ । अबको केही वर्षमा केरुङ(काठमाडौं रेलमार्ग निर्माण हुने बताउँदै मन्त्री मानन्धरले यस क्षेत्रका जनताले बिकासको उच्च लाभ लिनसक्ने बताए ।
सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्न र प्रधानमन्त्रीको चाहना बमोजिम दिर्घकालिन र दुरागामी विकासका आयोजना निर्माणका लागि वर्तमान सरकारर केन्द्रीत रहेकाले केही समयमा जनताले महसुस गर्नेगरी प्रतिफल देखिने मन्त्री मानन्धरको दाबी छ । चाउथे पुगेका मन्त्री मानन्धरले महायज्ञको समापन समारोहमा समेत सहभागिता जनाए । कार्यक्रममा नेकपाका नेता राजेन्द्र प्रकाश लोहनीले ल्याण्डफिल्ड साईट निर्माणका लागि मन्त्री मानन्धरले पहलकदमी लिएकोमा प्रशंसा गर्दै यस अघि भएका प्रतिवद्वता पुरा गराउन पनि आग्रह गरे ।