फागुन १९, काठमाडौ । प्रदेश २ को नाम टुंगो लगाउन प्रदेशसभामा मतदान हुने भएको छ ।
आगामी फागुन २३ गते प्रदेशसभामा मतदान हुने भएको हो । प्रदेशको स्थायी राजधानी जनकपुरलाई बनाउने सहमति गरेका दलहरुबीच नामबारे भने सहमति जुट्न सकेन । ‘प्रदेशको नामाकरणका लागि धेरै पटक बैठक बस्यौं, तर सहमति हुन सकेन,’ सभामुख सरोज यादवले भने, ‘त्यसैले मतदानमा लैजाने सहमति भएको छ ।’
उनकाअनुसार प्रदेशको नामबारे २२ गते प्रदेशसभामा छलफल हुनेछ भने २३ गते मतदान हुनेछ ।
उनका अनुसार दर्ता भएको चार वटै प्रस्तावमा मतदानमा लगिनेछ । सत्तारुढ समाजवादी र राजपाले मधेश, प्रमुख विपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जानकी, नेपाली कांग्रेसले मिथिला–भोजपुरा नाम प्रस्ताव गरेको छ । यस्तै केही सांसदले प्रदेशको नाम मध्य मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् । तर नाम पाउन गाह्रो छ
प्रदेशको नामाकरण अन्य प्रदेश जस्तो यहाँ सजिलो छैन । संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी तोक्न दुई तिहाई बहुमत चाहिन्छ, जुन कसैसँग छैन ।
कुल १०७ सांसद रहेको प्रदेश २ मा नेकपासँग ३२, समाजवादीसँग ३०, राजपासँग २५, कांग्रेससँग १९ र संघीय समाजवादीसँग १ सांसद छन् । र, २३ गते हुने मतदानमा कुनै चमत्कार भएन भने कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई पुग्दैन ।
सभामुख यादव पनि यसलाई स्वीकार गर्छन् । ‘सबैको आ–आफ्नै अडान छ । यही अवस्थामा मतदानले नाम टुंगिँदैन, तर प्रकृयामा जानैपर्ने भएकाले मतदानको मिति तोकिएको हो ।’
नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल आफूहरु हदैसम्म लचिलो भएपनि सत्ता पक्षले मधेशबाट पछाडि हट्न नमानेका कारण मतदानमा जानुपरेको बताए । आफूले जानकी मधेश नाम राख्न प्रस्ताव गरेपनि सत्ता पक्षले नमानेको भन्दै उनले ने आफूहरुले प्रस्ताव गरेको जानकी नाममै मतदान गर्ने बताए ।
कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि आफ्नो दल लचिलो भएपनि सत्ता पक्षकै अडानका कारण मतदान प्रकृयामा जानुपरेको सुनाए । उनले पनि आफ्नो दलका सांसदहरुले मिथिला–भोजपुराकै पक्षमै मतदान गर्ने बताए ।