असार ०१, फिदिम । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् ।
गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बाँकी घाइतेहरु सिमरा उपमहानगरपालिका-१२ कै २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरीको उपचार भैइरहेको छ । भुलेश्वर चौधरीको अवस्था पनि गम्भीर रहेको छ ।
पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को सीमाना भएर बग्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा शनिबार साँझ भाँचिएर खोलामा झरेको थियो । बेलिब्रिज खस्दा जडान गरिरहेका ६ जना घाइते भएका थिए ।
२०८१ असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो ।