असार ०१, काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
यी तीन वायुको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी र बागमती प्रदेशको एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ ।
राति पनि देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
भारी वर्षा भएका क्षेत्र भएर बग्ने स–साना खोला तथा नदीहरूमा आकस्मिक बाढी आउनसक्ने, होचा र डुबान भइरहने क्षेत्रका डुबान हुनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।