विश्व बैंकको आर्थिक सहयोगमा पोखराका तीन सडकको स्तरोन्नति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ ३०, शुक्रबार (२१ घण्टा अघि)
  • ८८ पटक पढिएको
विश्व बैंकको आर्थिक सहयोगमा पोखराका तीन सडकको स्तरोन्नति

जेठ ३०, काठमाडौं । नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीनवटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक स्तरोन्नतिको काम भइरहेको हो ।

पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माण अगाडि बढेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । परियोजनाको सम्झौता पाँच वर्ष रहेकामा हाल एक वर्ष थप भएको उनको भनाइ छ ।

तीन सडकमध्ये शिशुवा–सिसाघाट सडकको भौतिक प्रगति ६५ पुगेको छ भने अन्य दुई सडकको प्रगति न्यून देखिएको छ । पोखरा–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ५५ प्रतिशत र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडकको ४० प्रतिशत पुगेको इन्जिनियर गौतमले जानकारी दिए ।

विसं २०७९ चैतदेखि निर्माण थालिएको तालचोक–बेगनास सडक कम्पनीको ढिलासुस्तीका कारण समयमै निर्माण हुन नसकेको उनको भनाइ छ । कूल ३.२८ किमिको तालचोक–बेगनास सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको थियो ।

ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माण सुरु भएको थियो । एक अर्ब ४९ करोडको लागत योजना रहेपनि निर्माण कम्पनीसँग भ्याटसहित रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए । फुट ट्रयाक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नुमना सडक बन्ने उनको भनाइ छ ।

सडक छेउछाउमा बगैँचा, यात्रु प्रतिक्षालयसहित आकर्षक पूर्वाधार बनाइने महानगरपालिकाले जनाएको छ । सडकमा तीन वटा पुल पनि बन्नेछन् । अहिले सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनियर गौतमले जानकारी दिए । पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ ।

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ । पोखरादेखि शिशुवादेखि लमजुङको सिसाघाट जोड्ने सडकअन्तर्गत खुदी खोला पुलसम्मको खण्ड अहिले निर्माणाधीन अवस्थामा रहेको छ । कूल ४.१४ किमि दुरीको उक्त सडकमा पनि साइकल ट्रेक, फुटपाथ र सडकबत्ती रहने इन्जिनियर गौतमले बताए ।

त्यस खण्डमा चार वटा कलभट पनि निर्माणका क्रममा छन् । आशीष निर्माण सेवाले रु ३४ करोड ११ लाखमा उक्त सडकको निर्माण जिम्मा पाएको थियो । सन् २०२४ अप्रिल १४ बाट निर्माण सुरु भएकामा उक्त सडकको भौतिक प्रगति ६५ प्रतिशत पुगेको हो । गण्डकी प्रदेश राजधानी पोखरा भित्रने वैकल्पिक सडकका रुपमा हेरिएको दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडकको भौतिक प्रगति जम्मा ४० प्रतिशत पुगेको छ ।

कूल १२.४४ किमि दुरीको उक्त सडकको काम गत वर्ष असारदेखि सुरु गरिएको थियो । आशीष निर्माण सेवाले रु ७७ करोड ६८ लाखमा ठेक्का पाएको थियो । सम्झौता अवधिमा काम नसकिएपछि एक वर्षलाई ठेक्का म्याद थप भएको महानगरपालिकाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस