चैत्र २६, काठमाडौं । नेपालमा हालसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा नयाँ संक्रमित देखिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित नदेखिएको जानकारी दिएका हुन् ।
उनका अनुसार हालसम्म काठमाडौं उपत्याकाभित्र १९६५ जनाको र उपत्यका बाहिर ४ सय १ जनाको कोरोना भाइरसको परीक्षण गरिएको हो । उपत्यका र उपत्यकाबाहिर गरी जम्मा २ हजार ३ सय ६६ जनाको परीक्षणमा नयाँ संक्रमित नदेखिएको डा देवकोटाले बताए । नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ जना निको भइसकेका छन् । अस्पतालमा उपचाररत ८ जनाको अवस्था पनि सामान्य रहेको डा देवकोटाले जानकारी दिए ।