आइएलओको अध्ययनले भन्छ-‘खाडीमा मात्रै ५० लाख रोजगारी गुम्न सक्छ’

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र २७, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र २७, काठमाडौं । अन्तराष्ट्रिय श्रम संगठन आइएलओले खाडी राष्ट्रमा मात्रै ५० लाख रोजगारी गुम्न सक्ने भन्दै चिन्ता प्रकट गरेको छ । संगठनले हालै सार्वजनिक गरेको अध्ययनअनुसार २०२० अप्रिलदेखि जुनसम्म खाडी मुलुकहरुमा मात्रै ५० लाख श्रमिकहरुले रोजगारी गुम्न सक्ने देखिएको छ ।

आइएलओले यसअघि नै प्रारम्भिक अध्ययन सार्वजनिक गर्दै विश्वभर २५ करोड श्रमिकको पूर्ण रुपमा रोजगारी गुम्ने उल्लेख गरेको थियो । आइएलओले मंगलबार सार्वजनिक गरेको अध्ययनअनुसार खाडी क्षेत्रमा ५० लाख श्रमिकले पूरा समय खट्ने समय बराबरको रोजगारी गुम्ने भन्दै चिन्ता प्रकट गरेको हो । अध्ययनले यूरोपमा १ करोड २० लाख श्रमिकले पूरा समय खट्ने समय बराबरको रोजगारी गुम्न सक्ने समेत आँकलन गरेको छ । एसिया प्रशान्त क्षेत्रमा १ करोड २५ लाख बराबर रोजगारी गुम्न सक्ने भनिएको छ । आइएलओले यसअघि गरेको अध्ययनमा सन् २००८,२००९ को विश्वव्यापी वित्तीय संकटले निम्त्याएको बेरोजगारी समस्याका तुलनामा केही कमी हुने उल्लेख गरेको थियो ।

यद्यपि, अहिलेको बेरोजगारी समस्या सो वित्तीय संकटको बेलाभन्दा पनि बढ्ने आइएलओको अनुमान छ । कोरोना भाइरसका कारण अहिले विश्वमा ८१ प्रतिशत मानिस पूर्ण वा आंशिक बेरोजगारी बनेका छन् । नेपाली श्रमिकहरूको ठूलो हिस्सा खाडीमा खट्ने गरेको छ । खाडीमा रोजगारी कटौंतीको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्ने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस