चैत्र २७, काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व बिदा तथा अन्य सार्वजनिक बिदासित मिलाएर भए पनि शैक्षिक सत्रमा कुनै असर पर्न नदिने योजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्र निर्धारित समयमा सुरु हुन नसके पनि सरकारले विद्यार्थीको शैक्षिक सत्रमा कुनै असर नपार्ने जानकारी दिएका छन् । त्यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उनको भनाइ छ ।
मन्त्री पोखरेलले विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरिने उल्लेख गरे । ठूलो समस्या आएकाले सामान्य ढङ्गले यसको निकास नआउने र फरक परिस्थितिबाटै यसको निकास निकाल्नुपर्ने उनको भनाइ छ । सङ्कटलाई हेरेर जोखिमको थप विश्लेषण गर्दै अगाडि बढिने पनि उनले बताए ।
मन्त्री पोखरेलले कोरोना भाइरसको सङ्क्रमण हटेर जनजीवन सामान्य हुन थालेपछिको तीन सातामा विद्यार्थीको स्थगित परीक्षा गरिने बताए । तयारीका लागि केही समय दिनुपर्ने मन्त्री पोखरेलको भनाइ छ । हाल सरकारले चैत ६ गतेबाट सुरु हुने गरी तय गरेको माध्यमिक शिक्षा परीक्षा एसई स्थगन गरेको छ भने वैशाखमा सञ्चालन गर्ने भनिएको कक्षा ११ र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले रोकिसकेको छ ।