चैत्र २८, काठमाडौँ । अहिले कोरोना भाइरसको सङ्क्रमण कोभिड–१९ फैलिन नदिन सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो स्थानबाट नियमित रूपमा काम गरिरहेका छन् । तीनै तहले आ–आफ्नो संयन्त्र सफल रूपमा कार्यान्वयन गराएका छन् । नेपालको संविधानले तीन तहको सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्य हुने उल्लेख गरेको छ । अनुसूची ५ देखि ९ सम्मले एकल र साझेदारीका आधारमा तीन तहका सरकारबाट कार्यसम्पादन हुनेगरी अधिकारको बाँडफाँट गरिएको छ ।
सङ्घीय र प्रदेश सरकारले कोरोना भाइरसको सङ््क्रमण फैलिन नदिन नीतिगत रूपमा काम गरेका छन् भने स्थानीय सरकारले त्यसको कार्यान्वयन गरिरहेकाले नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नसकेको सङ्घीयता विज्ञ डा। खिमलाल देवकोटाले बताउनुभयो । उहाँले यो चुनौतीको घडीमा स्थानीय सरकारका लागि चुनौती र अवसर दुवै हो, यसलाई उचित रूपमा कार्यान्वयन गर्नुपर्छ भने ।
नेपालले अहिलेसम्म कोरोना भाइरसलाई नियन्त्रणमा राखेको छ । नेपाल सरकारले समयमै चालेको प्रयासले अहिलेसम्म सङ्क्रमण फैलिन पाएको छैन । सङ्क्रमण फैलिन नदिन तीन तहकै सरकारका संयन्त्रले प्रभावकारी भूमिका खेल्नुपर्छ । महाविपत्तिमा नागरिक नजिकको सरकार भएकाले स्थानीय सरकारको भूमिका थप महìवपूर्ण हुन्छ ।
स्थानीय सरकार सजग
नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार स्थानीय सरकारले विदेशबाट आउनेको तथ्याङ्क अद्यावधि, नियमित स्वास्थ्य अवस्थाको अनुगमन निरन्तर निगरानी गरिरहेको छ । यस्तै क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनको व्यवस्थापन, पालिका प्रवेश गर्नेको आधारभूत स्वास्थ्य जाँच गर्न हेल्थ स्क्रिनिङ डेस्क सञ्चालन गर्ने काम भइरहेको छ ।
दैनिक ज्याला मजदुरी एवम् विपन्न परिवारको लगत सङ्कलन र निश्चित मापदण्ड बनाई खाद्यान्न आपूर्ति गर्ने र सो कार्यका लागि अलग्गै संयन्त्र र अनुगमन संयन्त्र गठन गरी परिचालन गरिरहेका छन् । यस्तै घरधुरी स्तरमा मास्क, सेनिटाइजर, साबुन जस्ता सामग्री वितरण, घरमै बस्न, स्वास्थ्यमा ख्याल गर्न र केही समस्या परे तुरुन्त सम्पर्क गर्न जनचेतना अभिवृद्धि गरिरहेका छन्, त्यसका लागि वडा स्तरसम्म संयन्त्र बनाइएको छ ।
महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, सहकारी संस्था, टोल विकास संस्थालाई परिचालन गर्ने काम भइरहेका छन् । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको परिचालनमा पालिकाका सवारी साधनको प्रयोग, स्वास्थ्य संस्थामा न्यूनतम स्वास्थ्य सामग्री व्यवस्थापन, स्वास्थ्यकर्मीका लागि थप सुविधा प्रदान गरी सेवामा समर्पित हुन उत्प्रेरित गरिरहेको छ । सबै पालिकामा विपद् व्यवस्थापन समिति क्रियाशील छन् । विपद् व्यवस्थापन कोष स्थापना र निश्चित रकम जम्मा गरी सोही कोषबाट खर्च गर्ने प्रबन्ध मिलाइएको छ ।