असार ६, काठमाडौं । ९ अर्ब ८९ करोड रुपियाँ खर्चेर पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि मध्यपहाडी लोकमार्ग हुँदै पश्चिममा दार्चुलाको झुलाघाटसम्म अप्टिकल फाइबर बिछ्याउने परियोजना निकै धिमा गतिमा अघि बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर देशकै इन्टरनेट ब्याकबोनको रुपमा स्थापित गर्न खोजेको उक्त परियोजनामा लक्ष्य अनुरुपको प्रगति हासिल हुन नसकेको हो ।
प्राधिकरणले तीन ओटा प्याकेज अन्तर्गत सुरु गरेको उक्त परियोजना विभिन्न समस्यामा फस्दै गएको प्राधिकरण आफैले सार्वजनिक गरेको जेठ मसान्तसम्मको प्रगति विवरणमा देखिन्छ । प्राधिकरणले पहिलो पटक २०७३ असोज १२ गते नेपाल टेलिकमसँग प्याकेज एक अन्तर्गत प्रदेश १, ३ र बाग्मती प्रदेशमा २ हजार ८३ किलोमिटर फाइबर बिछ्याउने परियोजनामा सम्झौता गरेको थियो ।
प्राधिकरणको तथ्यांक अनुसार अहिलेसम्म उक्त प्याकेज अन्तर्गत जम्मा २ सय ५९ किलोमिटर मात्र अप्टिकल फाइबर बिछ्याइएको छ । यो परियोजनामा चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउने काम टेलिकमले पाएको हो ।