साउन १८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधानका लागि ‘दुई अध्यक्षबीचको सहमति’ नै महत्त्वपूर्ण हुने धारणा नेकपाका युवा नेताको छ । नेपाली कम्युनिष्ट आन्दोलनमाविपरीत दुई धारको नेतृत्व गर्ने पार्टीबीचको एकता, प्रतिनिधिसभा निर्वाचन र त्यसयताका पार्टी एकताका बाँकी कामहरू दुई अध्यक्षबीचको सहमतिबाटै भएकाले एकता महाधिवेशनसम्म सहमतिबाटै अगाडि जानुको विकल्प नरहेको धारणा उउनीहरुको छ ।
नेकपा स्थायी कमिटी सदस्य मणि थापाले पार्टीभित्र देखिएको विवादलाई ‘जुन सिद्धान्तमा पार्टी एकता भएको थियो त्यसै आधारमा समाधान’ गर्नुपर्ने बताए । उनले भने, “समाधानको अर्को उपाय दुई अध्यक्षबीचको सहमति हो । अहिले बहुमतको आधारमा कुनै पनि निर्णय हुनुहुँदैन । जे निर्णय हुन्छ, दुई अध्यक्षको सहमतिमा हुनुपर्छ, अनि मात्र समाधान निस्किन्छ ।”
स्थायी कमिटी सदस्य थापाले माघमा बसेको केन्द्रीय समितिको बैठकको चैतमा एकता महाधिवेशन गर्ने निर्णय गरेको र त्यस विन्दुबाटै सहमतिमा अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, “केन्द्रीय कमिटीले चैतमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो, त्यसको कार्यान्वयनमा जानुपर्छ ।” उनले पार्टी एकताको बाँकी काम पुरा गरेर चाँडै महाधिवेशन सम्पन्न गरी एकतालाई पूर्णता दिनुपर्ने बताए । नेता थापाले पार्टी र सरकार दुवै एक अर्काको पूरक हुनुपर्ने र एक अर्काको सहयोगबाट मात्र पार्टी र सरकार सफल हुने बताए । उपाध्यक्ष गौतमको छ बुँदे प्रस्ताव सकारात्मक रहेको टिप्पणी थापाको छ ।