नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ : प्रधानमन्‍त्री ओली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण २९, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन् । पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

अन्नपूर्ण मिडिया नेटवर्कको एपीवान एचडी टेलिभिजनमा बुधबारबाट सुरु भएको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ का लागि पत्रकार भूषण दाहाललाई अन्तर्वार्ता दिँदै नेकपा अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरे । ‘म कसैप्रति आरोप लगाइरहेको छैन। अस्ति पत्रकार सम्मेलन भयो। मैले कुनै जवाफ पनि दिइनँ । तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनु भएको छ। म चुप लागेर बसेको छु। त्यसकारण मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, पार्टीलाई एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ । कतिपय साथीहरू फुटे फुट्छ भन्दै पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौं भन्ने खालका अभिव्यक्ति दिइरहनु भएको छ । मैले त्यसको कुनै जवाफ दिएको छैन। म के भन्न चाहन्छु भने पार्टी फुट्दैन । र, फुटाउन कसैले सक्दा पनि सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हप्ता–दस दिन होइन, हप्ताभन्दा यतै ५ दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो । भोलि १ भनेर गन्न सुरु गर्नुहोला ।’

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले भने बुधबारै काठमाडौंको थापागाउँमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग पार्टीभित्र देखा परेका विषयमा सुझावका लागि भन्दै छलफल गरेका थिए । अर्कातिर दुई अध्यक्षबीच संवाद गराउन र विवाद टुंग्याउन दोस्रो पुस्ताका नेताहरूले भित्री रूपमा छलफल पनि बाक्लो बनाएका छन् ।

महासचिव विष्णु पौडेलले बुधबारै अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेट गरेका थिए। उपाध्यक्ष वामदेव गौतमले पनि वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए । शंकर पोखरेल, जनार्दन शर्मालगायत नेताहरूले दुवै अध्यक्षसँगको छलफल बाक्लो बनाएका छन् । उनीहरूका छलफलबारे केही नखुले पनि प्रधानमन्त्रीले अबको ५ दिनमा ‘सिनारियो नयाँ देखिने’ बताएपछि छलफल सकारात्मक रहेको अनुमान लगाउन थालिएको छ । ओलीले आफू तत्कालीन एमालेको बहुमतबाट निर्वाचित अध्यक्ष भएको र पार्टीमा तत्कालीन दुई पार्टीका अध्यक्ष महाधिवेशनसम्मका लागि अध्यक्ष रहने गरी व्यवस्था गरिएको प्रष्ट पारे। उनले ५ वर्ष सरकार पनि यही निरन्तर रहने बताए ।

‘हामीबीच प्रतिबद्धता थिए । हामीले बीचमा थप केही सम्झौताहरू गर्‍यौं। सहमतिहरू थप गर्‍यौं, बनायौं। मेरो तर्फबाट कुनै माग छैन । जो थप सहमतिहरू भए ती प्रचण्डजीले नै भन्नु भएकोले भएका सहमतिहरू हुन् । मेरो तर्फबाट प्रस्ताव गरिएको सहमति होइन। त्यो उहाँले पनि पटकपटक भन्नुभएको छ । हामीले के भन्यौं भने ५ वर्ष नै यो सरकार रहन जरुरी छ,’ प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा भने, ‘अहिले सरकारको निरन्तरता चाहियो । स्थायित्व चाहियो । जनताको आकांक्षा पनि त्यही छ। कहिल्यै ५ वर्ष सरकार टिकेन । टिक्न दिइएन । यो खालका प्रवृत्तिहरू उठ्न, झांगिन दिनु हुँदैन र सफल हुन दिनु हुँदैन ।’ अन्नपूर्णपोष्ट बाट

ताजा अपडेट

खोजी गर्नुहोस