असोज १९, काठमाडौं । अमेरिकी सरकारको युएससीआईएसले कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्डलाई सम्बोधन गर्ने नयाँ निर्देशिका जारी गरेको छ । अमेरिकी संसदले सन् १९५० मा अमेरिकाको शान्ति सुरक्षाको जोखिमलाई सम्बोधन गर्न कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्ड नदिने कानून पारित गरेको थियो ।
उक्त कानुनअनुसार सामान्यतया घरेलु वा विदेशी कम्युनिष्ट वा निरंकुश पार्टीमा आवद्ध रहेको वा सदस्य रहेको आप्रवासी अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्न अयोग्य हुने नियम छ । अब भने नयाँ निर्देशिकामा कस्तो अवस्थामा अयोग्य हुने र कस्तो अवस्थामा कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यले समेत ग्रिनकार्ड पाउन सक्ने भन्ने सन्दर्भमा चरणबद्ध पुनरावलोकनको व्यवस्था गरिएको छ ।
पहिलो चरणमा अधिकारीहरूले आवेदक संलग्न भएको पार्टी कम्युनिष्ट वा निरंकुश पार्टी हो वा होइन भन्ने निर्धारण गर्नेछन् । यदि आवेदक संलग्न भएको पार्टी कम्युनिष्ट वा निरंकुश पार्टी होइन भने उक्त आधारमा आवेदक ग्रिनकार्ड प्राप्त गर्न अयोग्य हुने छैन । त्यस्ता व्यक्तिलाई ग्रिनकार्ड दिइनेछ ।