कार्तिक २५,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका ट्रम्पले कार्यकाल सकिनै लागेका समय रक्षा मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
रक्षामन्त्री इस्पेरको बर्खास्तीलाई अप्रत्यासित र अस्वभाविक मानिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत इस्पेरलाई हटाइएको जानकारी दिएका छन् । तर उनलाई हटाउनुको कारण भने उनले स्पष्ट पारेका छैनन्।
पछिल्ला केही हप्ता ट्रम्प र एस्परबीच सार्वजनिक रुपमै फरक मत देखिन थालेको थियो । केही समयअघि जातीय विभेदका विषयमा भएको प्रदर्शन मत्थर पार्नका लागि ह्वाइट हाउसले सेना प्रयोग गर्ने विषयमा एस्पर ट्रम्पको विपक्षमा उभिएका थिए ।
अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गरिसकेका छैनन् । अमेरिकामा आउँदो जनवरी २० मा बाइडेनले पदभार ग्रहण गर्नु अघिसम्म ट्रम्पले निर्णय गर्न पाउछन्।