असोज १३, काठमाडौं । अमेरिका र इरानबीच कटुता कायम रहेकैबेला भारतले इरानसँगको पेट्रोलियम पदार्थ आयातलाई निरन्तरता दिने निर्णय गरेको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनेक्रममा न्यूयोर्क पुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इरानका समकक्षी मोहमद जवाद जरीफसित भएको वार्ताकाक्रममा भारतले इरानसँग पेट्रोलियम पदार्थ खरिदलाई निरन्तरता दिने बताएकी हुन् ।
यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तेल व्यापारमा प्रतिबन्ध लगाउने तयारीमा अमेरिका रहेको र प्रतिबन्धकाबीच इरानसँग आर्थिक कारोबार गर्ने देशले पनि नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।
भारतले अमेरिकी भनाइलाई बेवास्ता गर्दै इरानसँग पेट्रोलियम पदार्थ खरिद गर्ने जनाएको हो ।
इरानका विदेशमन्त्री जरीफले भारतसँग इरानको सम्बन्ध सधैं प्रगाढ रहने भन्दै इरान भारतलाई बन्दरगाहाको विकासका लागि ३५ लाख अमेरिकी डलर बराबरको बैंक ग्यारेन्टी दिने पक्षमा रहेको बताए ।
इरानको कुल उत्पादनको करिब १० प्रतिशत तेल भारतमा निर्यात हुने गरेको छ ।
अमेरिका र इरानबीच अन्तर्राष्ट्रिय परमाणु सन्धि टुटेपछि भारतले इरानबाट हुने तेल आयातमा केही हदसम्म कटौती गरेको थियो ।
सन् २०१५ मा इरान र संयुक्त राष्ट्र सुरक्षा परिषदका पाँच स्थायी सदस्यबीच परमाणु सम्झौता भएको थियो ।
तर, सन् २०१८ मा इरानमाथि दबाब सिर्जना गर्नका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौता तोडेका थिए । (एजेन्सी)