असोज १५, काठमाडौँ । नेपाली कांग्रेसले महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार बन्न मापदण्ड तोकेको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीका सबै जिल्ला समितिलाई परिपत्र पठाउँदै सभापतिसहित जिल्ला कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्य र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार हुन आवश्यक योग्यताबारे जानकारी गराएको हो ।
परिपत्रअनुसार एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लामा जिल्ला सभापतिको उम्मेदवार हुन क्रियाशील सदस्यता लिएको १० वर्ष पुगेको हुनुपर्छ भने क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापति उम्मेदवार हुन पाउँछन् । देशका ३५ जिल्लामा एक मात्र निर्वाचन क्षेत्र छ ।
यस्तै एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा एकै व्यक्तिले महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा उम्मेदवारी दिन पाउँदैनन् ।
तर एकभन्दा धेरै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा एकै व्यक्ति महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका कुनै पनि पदमा उम्मेदवार हुन पाउँछन् । तर जिल्ला सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुन अनिवार्य छ ।