बैशाख १९, काठमाडौँ । संसदीय समितिले निर्माणाधिन पेट्रोलियम पाईपलाईन विस्तार र भण्डारण केन्द्रहरुको स्थलगत अवलोकन गर्ने भएको छ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पेट्रोलियम पाईपलाईन विस्तार र भण्डारण केन्द्रहरुको कार्य प्रगति विवरण बुझ्न स्थलगत अवलोकनमा जाने निर्णय गरेको हो ।
नेपाल आयल निगमले रक्सौलदेखि अमलेखगंजसम्म पेट्रोलियम पाईनलाईन विस्तार तथा झापा, सर्लाही, चितवन र भैरहवामा भण्डारण केन्द्र स्थापनाका लागि काम सुरु गरेको छ । त्यसको यथार्थ विवरण जानकारी लिन समितिका सदस्यहरु आफै स्थलगत अवलोकनमा जाने निर्णय गरिएको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिए ।
समितिले सो स्थलगत अवलोकनको सम्पूर्ण व्यवस्था मिलाउन नेपाल आयल निगमलाई निर्देशन पनि दिएको छ । नेपाल आयल निगमले भण्डारण केन्द्र स्थापनाका लागि जग्गा खरिद गर्नेक्रममा ठूलो आर्थिक घोटाला गरेको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दायर छ भने पेट्रोलियम पदार्थ पाईपलाईन विस्तारको काममा ढिलाई भइरहेको गुनासो आइरहेको छ । तत्सम्बन्धमा यथार्थ जानकारी लिन स्थलगत अवलोकनमा जान लागिएको पनि समितिका सभापति श्रीवास्तवले बताए ।
त्यसैगरी समितिले ग्यासको बुलेट र टयाङ्कर सञ्चालनका लागि जथाभावी इजाजत दिने काम नगर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति श्रीवास्तवले व्यवसायीहरुलाई विगतमा पनि दुःख दिने गरिएकाले सोको इजाजत दिँदा सम्बन्धित निकायसँग विस्तृत छलफल गर्न निगमलाई सचेत गराइएको पनि जानकारी दिए ।