चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी आजदेखि सञ्चालनमा आउँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ १५, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जे७ १५, काठमाडौँ । लामो प्रतीक्षापछि चीनसँगको व्यापार नाका तातोपानी बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउँदै छ ।
चार वर्षअघिको भूकम्प (२०७२ वैशाख) ले भत्काएका भौतिक संरचनाको दुवै देशले निर्माण गरेपछि एक हजार ४९५ दिनपछि नाका सञ्चालनमा आउन लागेको हो ।

नाका सञ्चालनका लागि बुधबार नेपाल–चीन सीमाको मितेरी पुलमा विशेष कार्यक्रम हुँदैछ ।कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, मन्त्रालयका वरिष्ठ अधिकारी, प्रतिनिधिसभाका सदस्य एवम् राजनीतिक दलका नेता सहभागी हुनुहुनेछ ।

यस्तै चीन सरकारका तर्फबाट भाइस मिनिष्टर अफ जनरल एडमिनिष्ट्रेशन कस्टम अफ चाइना र चीनको स्वशासित क्षेत्र तिब्बतका वरिष्ठ अधिकारी तथा सम्बद्ध निकायका पदाधिकारी सहभागी हुने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताएका छन् ।

बुधबार गणतन्त्र दिवससमेत परेकाले महत्वपूर्ण कार्यक्रम तय गरिएको छ । प्रमुख जिल्ला अधिकारी चेम्जोङका अनुसार बिहान ११ बजे नेपाल र चिनियाँ अधिकारीबिच द्विपक्षीय छलफल हुनेछ । त्यस्तै १२ बजे दुई देशका उच्च अधिकारीको उपस्थितिमा तातोपानी नाका पुनः सञ्चालनमा आएको घोषणा गरिनेछ । रिबन काटेर नाका सञ्चालनमा आएको घोषणा गरिने र तिब्बतबाट ऊन बोकेर आउने चार कण्टेनरको स्वागत गरिनेछ । नेपालका तर्फबाट पनि दुई कण्टेनर खासा पठाउने तयारी गरिएको छ ।

खासाबाट ऊन ल्याउनका लागि मंगलबार बिहान मात्रै चार कण्टेनर त्यसतर्फ गएका थिए । नाका पुनःसञ्चालनमा ल्याउने कार्यक्रम थप व्यवस्थित बनाउन सीमावर्ती भोटेकोशी गाउँपालिकाले समेत आवश्यक तयारी गरेको छ । सोही गाउँपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यक्रम थप भव्य र आकर्षक बनाउन आवश्यक तयारी गरिएको जानकारी दिए । उनले सोमबार दश नेपाली कामदारसमेत खासा गएको जानकारी दिए ।

अरनिको राजमार्ग र तातोपानी क्षेत्रको सीमापुल निर्माणसहित सबै काम सम्पन्न भइसकेको छ । चीन सरकारको आर्थिक तथा प्रविधिक सहयोगमा लार्चास्थित भोटेकोशीको ११२ मिटर पक्की पुलका साथै ५०० रोपनी क्षेत्रमा फैलिएको अत्याधुनिक सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

नाका खुलाउने अन्तिम तयारीका लागि गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालगायतको टोली गएको शनिबार तातोपानी पुगेको थियो ।

नाकामा शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न र कुनै पनि प्रकारको कमजोरी नगर्न गृहमन्त्री थापाले निर्देशन दिनुभएको थियो । नाकालाई व्यवस्थित बनाउन अध्यागमन र भन्सार कार्यालय तथा व्यवसायीले समेत आवश्यक समन्वय गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष वेदबहादुर श्रेष्ठले जानकारी दिए । वार्षिक २० अर्बको आयात र तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आउने खबरपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन् ।

भूकम्पपछि खाली रहेको अध्यागमन र भन्सार कार्यालय सफासुग्घर बनाई सञ्चालनमा ल्याइएको तातोपानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतको भनाई छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस