टेलिकमको फोरजी सेवा विस्तार तिव्र : ६२ जिल्लाका १ हजार ५४ स्थानमा फोरजी पुग्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष ९, बुधबार (५ साल अघि)
  • ८० पटक पढिएको
Post Thumbnail

पुस ९,काठमाडौँ । नेपाल टेलिकमले गत बर्षको माघमा २ कम्पनीसँग देशभर फोरजी विस्तारका लागि सम्झौता गरेको टेलिकमले हाल सेवा विस्तारलाई आक्रामक बनाउँदै ६२ जिल्लाका १ हजार ५४ स्थानमा फोरजी सेवा पुर्याएको छ ।

गत बर्षको माघ अघि ६ लाख फोरजीका ग्राहकसहित काठमाडौं र पोखरामा मात्रै सिमित भएको टेलिकमको फोरजी विस्तार हुँदा हाल यसका प्रयोगकर्ता २८ लाख पुगेका छन । यो बर्षको असोज १५ गतेदेखि एकैचोटी ३६ जिल्लाबाट फोरजी सेवा सुरु गरेको टेलिकमले हाल ६२ जिल्लाका १ हजार ५४ स्थानमा फोरजी पुर्याएको जानकारी दिएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार हाल प्रतिदिन ४० देखि ५० ओटा नयाँ टावरमा फोरजी नेटवर्क जडान गर्ने कार्य भईरहेको छ । हाल कम्पनीका ३६ लाख ग्राहक फोरजीको पहुँचमा भएपनि जम्मा २८ लाखले मात्रै फोरजी सेवा प्रयोग गरिरहेको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले गत असोज १५ गते फोरजीको सफ्ट लन्च भएयता मात्रै ७ लाख १७ हजार ओटा नयाँ फोरजी सिम वितरण गरेको छ । गत असोजमा टेलिकमले विभिन्न ३६ जिल्लामा एकैपटक फोरजी संचालनमा ल्याउदा फोरजी ग्राहकको संख्या जम्मा ८ लाख ३८ हजार थियो । तर असोजदेखि पुसको पहिलो हप्तासम्म करिव ३ महिनाको अवधिमा कम्पनीका फोरजी ग्राहकको संख्या २० लाखले बढेको छ ।

यससँगै हाल टेलिकमको फोरजी सेवा लिनेको संख्या २८ लाख पुगेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय टेलिकमले चलाएको विभिन्न अभियानले पनि फोरजी प्रयोगकर्ता बढेका छन ।

कम्पनीले आफ्ना फोरजी ग्राहकको संख्या बढाउन नयाँ सिम लिनेलाई फोरजी सब्सक्राईब गरिदिने, नयाँ तर फोरजी सेवा सब्स्क्राईब नभएको सिममा फोरजी सब्स्क्राईब गर्ने र पुराना सिमलाई नयाँ सिममार्फत निशुल्क प्रतिश्थापन गर्ने अभियान चलाएको छ । टेलिकमका ग्राहकले पुरानो सिममा फोरजी चलाउन चाहेमा निःशुल्क नयाँ सिम दिने अभियान समेत टेलिकमले थालेको छ ।

गत बर्षको माघ १९ गते २ कम्पनीसँग देशभरका सबै स्थानमा फोरजी सेवा पुर्याउन सम्झौता गरेको टेलिकम छोटो समयमै धेरै स्थानमा फोरजी सेवा संचालनमा ल्याउन सफल भएको हो । टेलिकमले हङकङको सिसीएसआई र चीनको जेडटीईसँग फोरजी सेवा विस्तारका लागि सम्झौता गरेको थियो ।

हाल नेपालभर फोरजी सेवा विस्तार गर्न उक्त २ कम्पनीले विभिन्न टीम बनाएर काम गरेका कारण प्रतिदिन ४० देखि ५० ओटा नयाँ टावरमा फोरजीको नेटवर्क जडान गरिँदै आएको छ । नेपालका हरेक जिल्लालाई फोरजीसँग जोड्ने उद्धेस्य लिएको टेलिकमले अवको १ महिनामा बाँकी रहेका १५ जिल्लामा फोरजी सेवा पुर्याउने लक्ष्य लिएको छ ।

यसका लागि फोरजी जडान कार्यमा तिव्रता दिएको टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए । ‘हाम्रा लागि सबैभन्दा अप्ठ्यारो मानिएको ग्राउन्डबेस टावर निर्माण हो’ उनले भने, ‘ग्राउन्डबेस टावर बनाउन जग्गा, उपकरण, मुआव्जा लगायतका कुराहरुमा रोकावट आउने भएपनि हामीले छोटो समयमै २ सय ओटा नयाँ टावर निर्माण गरेका छौं ।’ टेलिकमले नेपालभर फोरजी विस्तार गर्नका लागि २ सय नयाँ बीटीएस टावर निर्माण गरेको छ ।

एक बर्षभित्रमै २ सय ओटा नयाँ टावर बनाउनु महत्वपुर्ण कुरा भएको अधिकारीले जानकारी दिए । कम्पनीले २०७३ पुष १७ गते नेपालमै पहिलोपल्ट तिव्र गतिको फोरजी एलटीई सेवा संचालनमा ल्याएको थियो ।

सहकार्य : बिजखवर डटकम

ताजा अपडेट

खोजी गर्नुहोस