चैत्र २१,काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२० मा नेपालको आर्थिक बृद्धिदर पाँच दशमलव ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को असरको कारण नेपालको अर्थतन्त्र सुस्ताउन सक्ने एडीबीले अनुमान गरेको हो ।
यसअघि सन् २०१९ मा नेपालको अर्थतन्त्र सात दशमलव १ प्रतिशत बढेको आकलन गरिएको छ । एडीबीले सन् २०२१ मा भने कोभिड–१९ को महामारी सकिएपछि अर्थतन्त्रमा पुनः सुधार हुँदै आर्थिक वृद्धिदर छ दशमलव ५ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ ।
त्यस्तै सन् २०१९ मा चार दशमलव ६ प्रतिशत रहेको मुद्रास्फीतिदर पनि २०२० मा छ प्रतिशत पुग्नसक्ने प्रक्षेपण एडीबीको छ । २०२१ मा पुनः मुद्रास्फीतिदर पाँच दशमलव ५ प्रतिशतमा झर्न सक्ने उल्लेख छ । यस वर्ष नेपाललाई केन्द्रित हुने गरी दक्षिण एसियामा आउने लगानीमा पनि उल्लेख्य कमी आउन सक्ने एडीबीले चेतावनी समेत दिएको छ । एडीबीले एसियाको आर्थिक वृद्धिदर यस वर्ष दुई दशमलव २ प्रतिशत रहने बताएको छ । यो सन् १९९८ को वित्तीय संकटयताकै कम हो ।
एडीबीका अनुसार कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा ४१ खर्ब डलरको क्षति पुग्ने छ । शुक्रबार एडीबीले अमेरिका, यूरोपलगायतका मुलुकमा देखिएको कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्रलाई नै समस्यामा पार्न सक्ने चेतावनी दिएको हो ।