चैत्र २४,दोलखा । स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नियमित कार्य मंगलबारबाट फेरि सुरु भएको छ । सरकारले मुलुकमा सञ्चालित राष्ट्रिय आयोजना सम्भव भएसम्म सञ्चालन गर्ने भएपछि तामाकोशीको रोकिएको काम फेरी सुचारु भएको हो ।
कुल ४ सय ५६ मेगावाट क्षमताको त्यस आयोजनाको कुल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ ।
आउँदो असारभित्र सबै बाँकी काम पूरा गरेर पहिलो युनिट सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो युनिट सञ्चालनमा आएपछि क्रमशः अन्य युनिट पनि राष्ट्रिय प्रणालीमा जडान गर्दै जाने लक्ष्य राखिएको छ ।
कोरोना भाइरस (कोभिड(१९) को संक्रमण विश्वभर फैलिँदै गएपछि आयोजनाको काम केहि समयदेखि रोकिएको थियो । तर आयोजनाको पावर हाउसका अत्यावश्यक काम भने सञ्चालन भइरहेको थियो ।
त्यसै निर्णय अनुसार मंगलबारबाट आयोजनाको सम्पूर्ण काम सुरु भएको प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिएका छन । आयोजनाले काम रोकेपछि जिल्लावासी कामदार घर फर्किएका छन् ।
आयोजनामा नै नियमित बसोबास गरिरहेका करिव ६ सय कामदारले आजबाट काम सुरु गरेका हुन् ।
आयोजनामा कार्यरत कुल ८ सय कामदार मध्य करिव २ सय कामदार घर फर्किएका थिए । आयोजनामा हाल झण्डै ३ सय भारतीय कामदार, चाइनाका झण्डै ५० कामदार र बाँकी नेपाली कार्यरत छन् ।
उनीहरुलाई पूर्ण सर्तकता अपनाइ काममा लगाइएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ ।