अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ…

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २७, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र २७, भक्तपुर । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ । अधिकांश जिल्लाका निजी अस्पतालले बिरामीको ज्वरोसमेत नहेरी ढोकाबाटै फर्काइरहेको अवस्थामा भक्तपुर अस्पतालले भने आएका कुनै पनि बिरामीलाई नफर्काइ ओपिडी सेवासमेत सञ्चालन गरेको छ ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले कोभिड–१९ को परीक्षण एवं आइसोलेसन छुट्टै सञ्चालन गरिएको र अन्य बिरामीका लागि छुट्टै व्यवस्था गरेर सेवा प्रवाह गरिरहेको जानकारी दिए । अस्पतालमा दैनिक ओपिडी, अल्ट्रासाउण्ड, प्रसूति सेवा सञ्चालन भइरहेको जानकारी दिँदै उनले लकडाउनकै अवधिमा पनि हड्डी भाँचिएको, एपेन्डीसाइड, सिजनर प्रसूति का शल्यक्रिया भइरहेको जानकारी दिए ।

अस्पतालले फिबर क्लिनिक सञ्चालन गर्दै आउने बिरामीलाई ढोकामै ज्वरो नापेर थप स्वास्थ्य परीक्षण एवं उपचार गर्ने गरिएको छ । अरु बेलामा निजी अस्पतालमा बिरामी पठाएर सिफारिस केन्द्र बन्यो भनेर आलोचना भइरहेको भक्तपुर अस्पताल सङ्कटको बेलामा भने आम नागरिकको भरोसाको केन्द्र बनिरहेको छ ।

यहाँ बीमाका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् । यस अवधिमा बीमाका बिरामीले अस्पतालको फार्मेसीबाट रु ९० हजारको औषधि लगेका छन् । सरकारले सो अस्पताललाई कोरोना हब अस्पताल घोषणा गरेपछि कोरोनाको परीक्षण एवं उपचारका लागि अस्पताल पनि सक्रिय बन्दै आएको छ । अस्पतालमा हाल चार श्ययाको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेर कोरोना परीक्षणसमेत गरिरहेको छ । आवश्यक पर्दा थप १० श्ययालाई आइसोलेसन बनाउन सकिने गरी तयारी अवस्थामा राखिएको छ ।

अहिलेसम्म विदेशबाट फर्किएका ८२ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएकामा ६० जनाको रिपोर्ट नेगेटिभ आएको र २२ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँको भनाइ छ । अस्पतालको आइसोलेसनका दैनिक दुई शङ्कास्पद बिरामीको उपचार हुने गरे पनि रिपोर्ट नेगेटिभ आएपछि घर पठाउने गरेको छ ।

अस्पतालमा मास्क, ग्लोब्स, पिपीइलगायतका अत्यावश्यक सामग्री अभाव भएपछि अस्पताल आफँैले कपडाको मास्क सिलाएको छ भने र पिपीइसमेत आफैँले एक टेलरमा सिलाउन तयारी गरेको छ । मेसु डा गौतमले विभिन्न निकायबाट आएको पिपीइ सकिएर समस्या आएपछि पिपीइमा प्रयोग हुने गुणस्तरीय कपडा ल्याएर टेलरलाई सिलाउन तयारी अवस्थामा राखिएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस