चैत्र ३०, काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यस मध्ये तीन जनाको रिपोर्ट पोजेटिभ देखिएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ देखिएकाहरुमा वर्ष ३७, ५५ र ४४ का पुरुषहरू रहेका छन् । कोभिड १९ को शंका लागि नारायणी अस्पताल, वीरगञ्जको आईसोलेशनमा राखि उनीरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परीक्षण गरिएको थियो ।
उक्त परीक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिवार पुन परीक्षण गरिएको र उक्त परीक्षणबाटसमेत नतिजा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारीक फेसबुकपेज मार्फत जानकारी दिएको । तीन जनाको नतिजा पोजिटिभ देखिएसँगै उनीहरुसँगको संसर्ग र उनीहरु गएको स्थानको पहिचान गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
कोरोना लागेका तीन जना मुस्लिम धर्म प्रचारका लागि आएका भारतीय रहेको समाचारहरु सार्वजनिक भएका छन् । तर मन्त्रालयले भने कुन देशका नागरिक हुन् भन्ने खुलाएको छैन । यसअघि नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । थप भएको तीन जनासहित १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये एक जना निको भएर घर गइसकेका छन् ।