वैशाख ५, काठमाडौं । चीनले तीन प्रकारको खोपको प्रयोगशाला परीक्षणका लागि अनुमित दिएको छ । चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारीले मंगलबार उक्त अनुमति दिइएको जनाएका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयको सामाजिक विकास विभागका महानिर्देशक वु युआनबिनले मानव तन्तुमा पहिचान गरिएको एडेनोभाइरस भेक्टर खोपको विकास गरी प्रयोगशाला परीक्षणको पहिलोपटक अनुमति दिइएको बताए । उनका अनुसार चिनियाँ इन्जिनियरिङ्ग प्रतिष्ठानका अनुसन्धानकत्र्ता तथा इन्स्टिच्युट अफ मिलिटरी मेडिसिनमा विज्ञका रुपमा कार्यरत चेन वेइ नेतृत्वका समूहले उक्त खोपको विकास गरेका हुन् । प्रयोगशाला परीक्षणको पहिलो चरणको परीक्षण मार्च अन्तिममा पुरा भइसकेको छ । अप्रिल १२ मा दोस्रो चरणको प्रयोगशाला परीक्षणको सुरुवात गरिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार दोस्रो चरणको परीक्षणमा प्रवेश पाएको यो विश्वको पहिलो खोप हो ।
वुहानमा रहेकी चेन वेइकी छोरी डा जियोङ्ग जेंगजिंग समेत सहभागी टोलीले परीक्षणका लागि ८४ वर्षीय एक वृद्धलाई १३ अप्रिलमा खोप लगाइएको छ । वृद्धमा कोभिड–१९ संक्रमणको जोखिम उच्च रहने हुँदा उनीहरुका लागि खोप सुरक्षा कवचको रुपमा काम गर्ने चेनले बताए ।
पहिलो चरणमा मार्च २७ मा १०८ जना स्वयंसेवीमा प्रयोगशाला परीक्षण गरिएको थियो । उनीहरु सबैको चिकित्सकीय अवलोकन सकिदा स्वस्थ्य अवस्थामा पाइएको चेनलाई उद्धृत गर्दै समाचार संस्था सिन्हवाले उल्लेख गरेको छ । दोस्रो चरणमा पाँचसय स्वयंसेवीमा प्रतिरक्षात्म क्षमता र सुरक्षाको अवस्था अवलोकन गर्न उक्त खोप लगाएर प्रयोगशाला परीक्षण गरिदैछ । अप्रिल १३ को पाँच बजेसम्म २७३ जनामा उक्त खोप लगाइएको छ ।
त्यसैगरी, चाइना नेशनल फर्मास्युटिकल ग्रुप सिनोफार्म मातहातको वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्ट्स र वुहान इन्स्टिच्युट अफ भाइरोलोजीले विकास गरेको निश्क्रिय खोप इनएक्टिभेटेड भ्याक्सिन को प्रयोगशला परीक्षणको लागि अप्रिल १२ मा अनुमति दिइएको छ ।
वेइजिंगस्थित सिनोभाक अनुसन्धान र विकास कम्पनी लिमिटेडले उत्पादन गरेको खोप अप्रिल १३ मा स्वीकृत गरिएको छ । मृत रोगजनक विषाणुलाई प्रतिरक्षा वृद्धि गर्न उपयोग गरिनेछ । खोप उत्पादन गर्न अनुसन्धानकत्र्ताले जिवित भाइरसलाई पी ३ प्रयोगशालामा उत्पादन गरेको छ । वाङ्का अनुसार उक्त खोपको सुरक्षात्मक अवस्था उच्च हुनेछ ।
जनावरमा गरिएको परीक्षणका लागि विज्ञहरुलाई पुरा प्रकृयामा निर्देशनात्मक गतिविधिका लागि सहभागी गराइएको छ । उहाँका अनुसार ‘नेशनल इन्स्टिच्युट अफ फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन’ र ‘नेशनल इन्स्टिच्युट फर फुड एण्ड ड्रग कन्ट्रोल’ले नमूना खोपले प्रयोगशाला अभ्यास सफलतापूर्वक पुरा गरेको छ ।
चीनले ‘इनएक्टिभेटेड’ खोपका लागि पछिल्ला वर्षहरुमा ठोस आधार तयार गरिसकेको छ । ‘इनएक्टिभेटेड’ खोप हेपाटाइटिस ए, इन्फ्लुएन्जा र पोलियोमाइलिटिस जस्ता रोग विरुद्ध लड्न प्रयोग गरिन्छ । वुले ‘इनएक्टिभेटेड’ खोपको प्रभावकारिता अन्तर्राष्ट्रिय रुपमा स्वीकार गरिएको मापदण्डबाट मूल्याङ्कन गर्न सकिनेछ ।
चीनले पाँच वटा प्रविधिमा आधारित रहेर कोभिड–१९ विरुद्धको खोपको विकास गरेको छ । जसमा ‘इनएक्टिभेटेड’ भ्याक्सिन्स, ‘रिकोम्बिनेन्ट प्रोटिन भ्याक्सिन्स’, ‘एडेनोभाइरस भेक्टर भ्याक्सिन’, ‘न्युक्लिक एसिड भ्याक्सिन’ सम्मिलित छन् ।