बैशाख १२,काठमाडौँ । चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् ।
चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएको जनाएको छ । त्यसैले १६ अप्रिलदेखि मानिसमा पनि त्यसको परीक्षण सुरु गरिएको उल्लेख गरेको छ ।
साइनोभ्याकले दिएको जानकारीअनुसार आठ वटा बाँदरको श्वास नलीमा कोरोना भाइरस राखिएको थियो । त्यसपछि अलग–अलग डोजमा भ्याक्सिन दिइयो । त्यसको तीन हप्तापछि ती बाँदरहरुको पुनः जाँच गरियो । तर एउटा पनि बाँदरमा कोरोना संक्रमण देखिएन ।
साइनोभ्याकका डाइरेक्टर मेंग विनिङले भनेका छन्, ‘सबैभन्दा बढी डोज दिइएको बाँदरमा सात दिनपछि उसको फोक्सो वा शरीरमा कतै पनि कोरोना भाइरसको कुनै लक्षण वा प्रमाण देखिएन । थोरै डोज दिइएका केही बाँदरहरुमा पनि भने हल्का असर देखियो । तर त्यसलाई पनि नियन्त्रणमा लिइयो ।
उनले भनेका छन्, ‘खोप मानिसमा पनि प्रभावकारी हुनेमा हामीलाई पूरा विश्वास छ ।’ साइनो भ्याकले बनाएको खोपको परीक्षण रिपोर्ट १९ अप्रिलमा एक वेबसाइटमा प्रकशित भएको छ ।