बैशाख २१, काठमाण्डौ । रूसले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रूसले जनाएको छ । हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग दुई करोड ६० लाख डोज खोप उत्पादन गर्ने बारेमा तीन वटा सम्झौता भइसकेको रूसले घोषणा गरेको छ ।
यहाँबाट उत्पादित खोप दक्षिण अमेरिका, मध्यपूर्व र अफ्रिकामा आपूर्ति गरिनेछ । यी क्षेत्रका धेरै मुलुकले रूसी खोपको माग गरेका छन् । अमेरिकी र युरोपेली युनियनले भने आफ्नै मुलुकका खोप अभियानमा केन्द्रित गरेपछि रूसले अन्य मुलुकका लागि खोप आपूर्तिलाई तीव्रता दिएको छ ।