बैशाख २३, काठमाण्डौ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरस संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ । दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा दोस्रो पटक संक्रमितको संख्या ४ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो । यसअघि भारतमा पहिलो पटक गत शनिबार १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या अझ बढेको हो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १० लाख ७० हजार ८५२ पुगेको छ । भारतमा १ करोड ७२ लाख ६९ हजार ७६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख ७१ हजार ६२५ छ । यस्तै त्यहाँ एकैदिन ३९ सय ८२ संक्रमितको मृत्यु भएको छ ।