-शिबराज आचार्य
फागुन १६, धादिङ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यमा धादिङ तर्फ शतप्रतिशत मुआब्जा माग्दै अवरोध जारी भएपछि भएको छलफलमा तत्कालका लागि काम गर्न दिने सहमती भएको छ । आयोजनाले साइट क्लियरका लागि बुधबार स्थानीयसँग गरिएको छलफल निष्कर्षमा पुग्न सकेन र बिहीबार पुनः सांसद भूमि त्रिपाठी सँगै स्थानीयसँग छलफल गरेपछी तत्कालका लागि मुआब्जा बुझेको जग्गाहरुमा माटो सम्माउने पुर्ने र खन्ने लगायतका काम गर्न पाउने गरी सहमति गरिएको न्यु एक्टिभिटिज क्लबका अध्यक्ष राजिब लामाले दिए । सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले का अनुसार मुआब्जा वितरण भइसकेको साइटमा काम गर्ने र बांकी भएकाको हकमा पहल गर्ने गरी सहमती गरिएको बताए ।
सुरुङमार्ग निर्माण गर्न आयोजनाले काठमाडौंतर्फ दुई सय ६६ र धादिङतर्फ ४४ रोपनी जमिन अधिग्रहण गर्ने निर्णय गरेको छ। जसमध्ये काठमाडौंतर्फको पूरै र धादिङतर्फ १७ रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको खरेलले बताए। धादिङतर्फको सबै जमिन गुठीको भएको उनको भनाइ छ।
गुठीको जग्गालाई मुआब्जा दिँदा तोकिएको मूल्यको ३३ प्रतिशत रकम उपभोग गर्नेलाई दिने व्यवस्था गरे पनि स्थानीयले बुढीगण्डकी आयोजनाको जस्तै सतप्रतिशत रकम पाउनुपर्ने माग राखेका छन् ।
स्थानीयको अवरोधले कार्यतालिका अनुसार जग्गा अधिग्रहण हुन नसकेपछि निर्माणको जिम्मा लिएको जापानीज ठेकेदार कम्पनी हाज्मा आन्दो कर्पोरेसनले साइट क्लियर गर्न माग गर्दै पटकपटक पत्राचार गरिरहेको छ ।
मुआब्जाको विवादले गर्दा अहिलेसम्म कार्यतालिका अनुसार काममा दुई महिना ढिला भइसकेको छ, आयोजना प्रमुख खरेलले भने, ‘जसले गर्दा एकातिर आयोजना समयमा सक्न समस्या हुन्छ भने अर्कोतर्फ ठेकेदार कम्पनीलाई क्षतिपूर्ति दिनुपर्ने अवस्था आउन सक्छ। त्यसैले स्थानियको मागको सम्बन्धमा छिटो निर्णय लिन सरकारलाई हामीले पनि अनुरोध गरिरहेको छौ । सरकारका तर्फबाट मन्त्रीपरिषदले शतप्रतिशत मुआब्जा दिने निर्णय गरे आयोजना दिन तयार छ ।