लकडाउनमा ठूला आयोजनाका काम कसरी हुँदैछ ?(हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २८, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र २८, काठमाडौँ । सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । सरकारले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेको छ ।
आयोजना स्थलमा एक एम्बुलेन्स अनिवार्य रुपमा राख्नैपर्ने, निर्माण स्थलमा खटिएका कामदारलाई आइसोलेशनमा बसे जस्तै गरी स्थानीयवासीसँगको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै आयोजना स्थलमा एक मेडिकल टिम अनिवार्य रुपमा राख्ने व्यवस्था गरिएको छ ।

कुनै स्वास्थ्य समस्या देखिने बित्तिकै उपचारको प्रबन्ध गर्न व्यवस्था गरिएको छ । कोभिड–१९ समन्वय समितिको बैठकले ठूला आयोजना तथा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको छ । सोही आधारमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको काम शुरु गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनका अनुसार निर्माण सामग्री आयातमा समेत सहजीकरण गरिएको छ । निर्माण सामग्री लिन जाने सवारी साधनलाई विशेष पास उपलब्ध गराइनेछ । त्यस्ता पास लिएका सवारी साधनले तोकिएको स्थानमा पुगेर निर्माण सामग्री ल्याउने र अन्य कुनै पनि नागरिकलाई चढाउने वा यात्रा गर्न नपाउने व्यवस्था गरिएको छ ।

निर्माण सामग्रीको आयातमा देखिएको समस्या समाधान गर्न निर्माण सामग्री लिन जानेले पास लिने, सामग्री लिएर फर्कने व्यवस्था गरिएको छ । निर्माण सामग्री लिन जाँदा मान्छे चढाएर लैजाने र आउँदा पनि मान्छे चढाउने जस्तो विकृति देखिएपछि सिमितलाई पास दिएर आयात गर्न दिने व्यवस्था गरिएको छ ।

निर्माण सामग्रीलगायत आयातमा केही जटिलता देखिएको गुनासो आएपछि त्यसलाई व्यवहारिकरुपमा हल गर्नेतर्फ मन्त्रालयले विशेष प्रबन्ध गरेको मन्त्री पुनको भनाइ छ । मन्त्रालयले नै पहल गरेर उच्चस्तरीय समितिमा छलफल भएर यस्तो खालको निर्णय भएको उनको भनाइ छ ।

विशेष गरी कोरोनाको सङ्क्रमण फैलन नदिन श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने विषय प्रमुख प्राथमिकतामा छ । अन्य नागरिकसँग घुलमिल नहुने वातावरण बनाउने, हरेक आयोजनामा एक एम्बुलेन्स र मेडिकल यूनिट रहनै पर्ने व्यवस्था गरिएको मन्त्री पुनले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी लगायतका आयोजना सञ्चालन भइरहेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ । हाल आयोजनाको सबैभन्दा जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडानको काम भइरहेको छ । आयोजनामा केही दिन पहिले मात्रै बाँधस्थल तथा बालुवा थिग्र्याउने पोखरीको परिक्षण गरिएको थियो ।रासस

ताजा अपडेट

खोजी गर्नुहोस