वैशाख, १९ काठमाडौं । परराष्ट्र मन्त्रालयले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी मृत भेटिएको घटनाको छानविनका लागि कूटनीनिक पहल थालेको जनाएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज समाजिक सञ्जाल मार्फत भारतमा अध्ययनरत छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको भन्दै मन्त्रालयले बिहीबार नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी हुन् ।
उनले सामाजिक सन्जालमा लेखेकी छन्, ‘नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको छ । प्रिशाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
उनी थप लेख्छिन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ ।’
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत प्रिशा पर्सा विरगञ्ज निवासी हुन् । प्रिशा विहीबार राति आफ्नै होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
यसअघि पनि गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत भेटिएकी की थिइन् । विहीबार दोस्रो नेपाली विद्यार्थीको सोही विश्वविद्यालयमा मृत भेटिएकी हुन् ।