वैशाख, १९ काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छ दिन छलफल हुने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले वार्षिक नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल हुने जानकारी गराए ।
सरकारको नीति तथा कार्यक्रममाथि यही वैशाख २२ गते देखि २८ गतेसम्म छलफल हुने र नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यतालिका रहेको सभामुख घिमिरेले बताए ।
उनले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वको आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक घन्टा अगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन सम्बन्धित दलका पदाधिकारीलाई आग्रह गरे ।
सभामुख घिमिरेले नीति कार्यक्रममाथि संशोधन राख्न चाहने सांसदले सोको सूचना यही वैशाख २० र २१ गते बिहान ११ देखि अपराह्न ३ बजेभित्र कार्यव्यवस्था शाखामा दिन सक्ने जानकारी गराए ।
प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २२ गते बिहान ११ बजे बस्ने छ ।