वैशाख २१, काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारमा दोषी ठहर गर्दै २ वर्ष कैद र १३ करोड ५८ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
विशेष अदालतका न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आइतबार पौडेलसहित म्याक्स इन्टरनेशनल प्रालि र सो कम्पनीका सिइओ अकबर हुसेनलाई भ्रष्टाचारी ठहर गर्दै सजाय सुनाएको हो ।
अदालतले अख्तियारको दावीबमोजिम सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै तीन प्रतिवादीहरु विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र यसका सञ्चालक अकबर हुसेनलाई दामासाहीले जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना गरी असुलउपर गर्नुपर्ने फैसला गरेको छ ।
विशेषले पौडेलविरुद्ध भ्रष्टाचार कसुरमा १ वर्ष ६ महिना र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएर पदीय दुरुपयोग गरेको कसुरमा पौडेललाई थप ६ महिना कैदको सजाय तोकेको छ । अकबर हुसेनलाई डेढ वर्ष कैद ठहर भएको छ ।
अन्य प्रतिवादीहरु सफल श्रेष्ठ, नवीन कुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्क बहादुर थापालाई भने विशेषले सफाइ दिएको छ । उनीहरु खरिद प्रक्रियामा संलग्न देखिए पनि खरिद कार्यमा कुनै निर्णायक भूमिका नदेखिएको भन्दै सफाई दिइएको फैसलामा उल्लेख छ ।
पौडेल यसअघि नै भ्रष्टाचार कसुरमा जेल सजाय कट्टा गरिरहेका छन् । विशेष अदालतले भ्रष्टाचार आरोपमा २०८१ जेठ ८ गते २५ करोड ४७ लाख बिगो असुल र त्यति नै रकम जरिवाना तथा २ वर्ष कैद सजायको फैसला गरेको थियो । त्यसको दोस्रो दिन नै अख्तियारले उनीविरुद्ध दोस्रो मुद्दा दायर गरेको थियो ।