जेठ ८, काठमाडौं । काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार आज अदालतमा पेश गरिएकामा ५३ जनालाई नै २ दिन म्याद थप गरिएको हो ।
गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको मृत्यु भएको थियो भने आगजनी र लुटपाटका घटना भएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।
राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सोही घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर राणासहित ३७ जना भने हाजिर जमानीमा रिहा छन् ।