फागुन १३,काठमाडौँ । काँग्रेस महासमितिको गत पुस २९ देखि माघ ९ सम्म चलेको बैठकबाट पारित निर्णयलाई लत्याउँदै फागुन १२ गतेको काँग्रेस केन्द्रीय समिति बैठकले आफ्नो निहित स्वार्थअनुरुप पार्टीको विधान पारित गरेको सुन्दा आश्चर्य लागेको कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनर सिंह केसीले बताएका छन । । आईतबार बहुमतले विधान पारित गरेसंगै नेता केसीको यस्तो धारणा आएको हो ।
उनले आफ्नो सामाजिक सञ्जालमा लख्दै भनेका छन –’महासमिति बैठकको निर्णय र केन्द्रीय समितिलाई दिएको निर्देशनको ठाडै बर्खिलाप हुनेगरी आफ्नो स्वार्थ केन्द्रीय समितिबाट प्रवेश गराएर पार्टीमा लाद्ने काम पार्टीको ७२ वर्षको इतिहासमा पहिलोपल्ट यसैपाली भएको छ ।
महाधिवेशनको निर्णय वा निर्देशनलाई महासमितिले उल्लङ्घन गर्ने, महासमितिको निर्णयलाई केन्द्रीय समितिको बैठकले लत्याउने हो भने केन्द्रीय समितिका निर्णय वा निर्देशन मातहतका निकाय र विभागले पालन गर्ने निश्चितता कहाँ रहला ? खतरनाक लक्षण देख्दैछु म ।
पार्टी भनेको बहुमतमा भएको फगत स्वार्थ–समुह होइन, नैतिकताको परिधिभित्र सैद्धान्तिक अठोटमा अडान, लक्षप्रति कटिबद्ध संकल्प, जनविश्वासका साथै स्वच्छ छवि र साख हो । फागुन १२ गते काँग्रेस केन्द्रीय समितिले महासमितिको बैठकमा पारित निर्णय र काँग्रेस केन्द्रीय समितिलाई दिएको निर्देशनलाई गैरजिम्मेवार र निर्मम ढङ्गले लत्याउने काम गरेर महासमितिको स्थान, मर्यादा र गरिमालाई समाप्त पार्ने कसरत गरेको छ ।
यस्तो प्रवृत्तिको म विरोध गर्छु, पार्टीका तमाम निष्ठावान साथीहरूलाई यो प्रवृत्तिको विपक्षमा खडा भई काँग्रेस केन्द्रीय समितिको उक्त निर्णय सच्याउन आवश्यक दबाब दिनका लागि आग्रह गर्दछु । महासमिति बाट पारित प्रस्ताव को पछ्मा निरन्तर रहने प्रतिबद्ध व्यक्त गर्दछु ।’