चैत १५, ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि पनि समस्या समाधानका लागि सो पार्टीसँग छलफल र सम्वाद भइरहेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा विहिबार आयोजित सर्वपक्षिय बैठकमा उनले विभिन्न सुत्रका माध्यमबाट सो पार्टीसँग समस्या समाधानका विषयमा छलफल र सम्वाद भइरहेको बताए।
सरकारले वार्ता, सम्वाद र छलफलका लागि ढोका खुला राखेकाले उनले राजनीतिक तबरबाटै समस्या समाधानका लागि सरकार प्रयासरत रहेको स्पष्ट पारे ।
संविधानको दायराभित्र रहेर खुलेका कुनै पार्टी वा समूहलाई निगरानी गर्नुपर्ने कारण नरहेकाले उहाँले विप्लव नेतृत्वको पार्टीलाई नभई उसले गरेका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारे।
प्रतिबन्ध लगाउनुअघि पनि विप्लव समूहसँग पटकपटक वार्ता र छलफल भएको तर सहमति नभएपछि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उसका गतिविधिलाई प्रतिबन्ध लगाउनु परेको नेता भट्टराईले बताए।
छलफलमा जनप्रतिनिधिले प्रतिबन्धपछि स्थानीय तहमा विभिन्न चुनौती थपिएकाले चाँडै राजनीतिक तवरले समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । रासस