चैत २२, काठमाडौँ । जिल्ला र उच्च अदालतका न्यायाधीशहरुले आफूहरु कानुन व्यवसायी र बिचौलियाबाट पीडित हुनुपरेको गुनासो गरेका छन् ।
न्यायाधीशहरुको नाममा हुने बिचौलियाले न्यायपालिकाप्रति जनआस्था बढाउनुभन्दा बदनाममात्रै गराएको उनीहरुले बताए ।
बुधबारदेखि सुरु भएको न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा देशभरबाट आएका ३९३ जना न्यायाधीश चारओटा कार्यपत्रको विषयमा आफ्नो धारणा राखेका थिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले अदालतमा बिचौलियाबाट हैरान हुनुपरेको गुनासो पोखे ।
‘कुटपिट मुद्दामा ‘कोट फी’ लाग्छ भनेर कानुन व्यवसायी नै बिचौलिया बनिरहेका छन्’–उनले भने–‘अदालतमा काम–कारबाही गर्दा कति खर्च लाग्छ भन्ने विषयमा अदालतमा न्याय माग्न आउनेका लागि देख्नेगरी नराखिँदा समस्या भइरहेको छ ।’
‘न्याय माग्न आउनेहरु बिचौलियाका कारण पीडित हुनुपर्ने अवस्थामा छन्’–उनले भने–‘इजलासमै कति खर्च लाग्छ, श्रीमान् भनेर पीडितले सोध्छन । बीचमा बिचौलियाले न्यायाधीशको नाममा बदनाम गरिराखेका छन् ।
अदालतअगाडि जबसम्म काम–कारबाही र मुद्दामा कति खर्च लाग्छ, सबैले देख्नेगरी राखिँदैन, न्यायालयमा बिचौलिया नरोकिने न्यायाधीश आचार्यको भनाइ छ । –राजधानी दैनिकबाट