प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडा ! ‘बाग्मती’ नाम रहने निश्चित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख २०, शुक्रबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

बैशाख २०,काठमाडौँ । प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने लगभग सुनिश्चित भएको छ । डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडालाई प्रदेशको स्थायी राजधानी तोक्न नेकपाका दुवै अध्यक्ष सकारात्मक भएका छन् ।

हेटौंडा राजधानी राख्ने विषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सकारात्मक भएकाले अब हेटौंडा अस्थायी राजधानीबाट स्थायी राजधानीमा परिणत हुने लगभग पक्का भएको प्रदेश सरकार स्रोतले जनाएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि नै यसबारे सकारात्मक थिए ।

स्थायी राजधानी हेटौंडा र राजधानीको नाम भने बाग्मती राख्नका लागि प्रधानमन्त्री ओली सकारात्मक भएको बुझिएको छ । सातवटै प्रदेशको अन्तर प्रदेश समन्वय परिषद बैठकमा प्रधानमन्त्री ओलीले हेटौंडाबाट अन्यत्र राजधानी नसर्ने बताउनुभएको बैठकमा सहभागी एकले खुलासा गरेका छन् ।

अहिले जुन स्थानमा भए पनि कुनै काम गर्न समस्या नभएकाले कामलाई प्राथमिकता दिन पनि प्रधानमन्त्रीले आग्रह गरेको ती सहभागीले बताए । यसभन्दा पहिले नेकपाका अर्का अध्यक्ष प्रचण्डले भने स्थायी राजधानी हेटौंडा नै रहन्छ भनेर सार्वजनिक रुपमा संकेत गरिसकेका छन।

नेकपाका दुवै अध्यक्ष ओली र दाहाल हेटौंडा राजधानी राख्ने पक्षमा उभिए पनि कसरी र कुन तरिकाले स्थायी राजधानी राख्ने र नामाकरणका बारेमा प्रदेश सभाका सदस्यहरुलाई सर्कुलेशन गर्ने भन्नेमा अन्योल नै रहेको नेकपाका एक केन्द्रीय नेताले बताएका छन् ।

राजधानी र नामाकरणको विषय कहिले र कसरी टुङ्गो लगाउने भन्नेमा प्रधानमन्त्री ओलीले खुलाएका छैनन् । प्रदेश ३ को प्रदेश सभामा नेकपाको दुई तिहाई बहुमत छ । त्यसैले पनि दुई अध्यक्षको सुझावअनुसार नै राजधानी र प्रदेशको नामाकरण हुने प्रबल सम्भावना रहेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने प्रदेश सरकार सुरु भएदेखि नै राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने बताउँदै आउनुभएको छ । यसबारे उहाँले पार्टीका केन्द्रीय स्तरका नेताहरुसँग पनि पटकपटक छलफल गर्दै आएका छन ।

राजधानी हेटौंडाबाट नसर्नेमा ढुक्क हुनुभएका मुख्यमन्त्री पौडेलले प्रदेश सभाको हिउँदे अधिवेशनमा राजधानीको विषयमा टुङ्गो लगाउने भने पनि त्यो काम भने हुन सकेन । अब वर्षे अधिवेशनमा पनि राजधानीको विषयले प्रवेश पाउने निश्चित छ ।

ताजा अपडेट

खोजी गर्नुहोस