साउन १८,काठमाडौँ । पछिल्ला केही बर्ष नेपाल–भारतको सम्बन्ध उच्चस्तरिय राजनितिक भेटघाटबाट सुमधुर र विशेष हुँदै गईरहेको छ । खासगरी भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी र उनको दललले नेपाल सम्बन्धलाई महत्वुपर्ण रुपमा लिइएको पाईन्छ । यसै सिलसिलामा नेपाल तथा भारतका शीर्ष नेतृत्वको आवतजावत बाक्लिँदै गर्दा भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाला नेपाल आएका छन्।
उनी नेपाल–भारत मैत्री समाजले काठमाडौंको हिमालयन होटलमा आयोजना गरेको वर्तमान सन्दर्भमा नेपाल–भारत सहकार्यको सम्भावना र चुनौती विषयक कार्यक्रममा प्रमुख वक्ताको रुपमा उपस्थित भएका हुन्।
उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी, नेपालस्थित विभिन्न पार्टीका वरिष्ठ नेताहरु, पूर्व राजदूतहरु, सञ्चारकर्मीका साथै विदेश मामला विज्ञहरुको पनि सहभागिता थियो।
चौथाइवालाले हालसालै भारतमा सम्पन्न भएको संसदीय निर्वाचनको विषयमा आफ्नो महत्वपुर्ण भनाइ राखेका थिए। उनले भारतले पछिल्लो समय आर्थिक विस्तारको लागि शुरु गरेको केही कार्यक्रमको विषयमा समेत जानकारी दिए।
चौथाईवालाले भारतजस्तो तीव्र गतिमा अघि बढिरहेको अर्थतन्त्रबाट नेपालले सिक्नुपर्ने पाठको विषयमा पनि आफ्नो धारणा राखेका थिए। उनले नेपालको विकासमा भारत सधै अग्रभागमा रहेर सहयोग गर्न तत्पर रहेको उल्लेख समेत गरेका थिए । कार्यक्रममा नेपालका लागी भारतीय राजदूत पुरीले सदियौंदेखिको दुई मुलुकको सम्बन्ध प्रगाढ रहेको र यसलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस नेता डा.गोविन्द पोखरेलले दुई मुलुकको सम्बन्धको एजेण्डा आर्थिक विकास तथा समृद्धि हुनुपर्ने बताए। उनले भारतलाई नेपालको विकास र समृद्धिमा सघाउन समेत आग्रह गरे।
गत साता मात्र भाजपाका नेता डा. सुब्रमण्यम स्वामी पनि नेपाल आएर प्रमुख दलका शीर्ष नेतालाई भेटेर फर्किएका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा केही चिसिएको नेपाल–भारत सम्बन्धमा सुधारको लागि भाजपाले जोड दिएको छ। त्यसै क्रममा भाजपाका शीर्ष नेताहरु नेपाल आउने र नेपालका नेतासँग भेटवार्ता गर्ने क्रम पनि बढेको छ। चौथाईवालाको नेपाल भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी नेपाल भ्रमणको तयारीको रुपमा समेत बुझिएको छ ।
भाजपा नेतृत्वको सरकार दोस्रो पटक सरकारमा आएपछि छिमेक पहिलो नीति लिएको मोदी सरकारका तर्फबाट विदेशमन्त्री एस जयशंकर भदौमा नेपाल भ्रमणमा आउँदैछ्न् ।