नेकपा सचिवालय बैठक स्थगित, दाहाल–नेपालबीच कोटेश्वरमा भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ३२, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले आइतबार अपराह्न ४ बजे बस्ने गरी शनिबारको बैठक स्थगित भएको जानकारी दिए ।

शनिबारको बैठकमा पार्टीका जनवर्गीय संगठनको इन्चार्ज तोक्नुका साथै विशेष जिल्लाहरुको नेतृत्व चयन गर्ने एजेन्डा थियो ।

यसअघि, शुक्रबार बसेको सचिवालय बैठकले पार्टीका महत्वपूर्ण ३२ विभागको नेतृत्व चयन गरेको थियो । ३२ विभागमध्ये १८ मा पूर्वएमाले र १४ विभागमा पूर्वमाओवादी केन्द्रका नेताहरुले जिम्मेवारी पाएका छन् ।

यस्तै, बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव गरेको थियो ।

बैठकमा नेता झलनाथ खनालले आफूलाई तेस्रो वरीयतामा राख्न लिखित प्रस्ताव पेस गरेका थिए । तर, उक्त प्रस्तावबारे कुनै निर्णय भने भएको छैन ।

दाहाल–नेपाल भेट

यसैबीच, पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा शनिबार बिहान भएको भेटवार्तामा नेता झलनाथ खनालले पार्टीभित्र वरीयताको विषयमा राखेको लिखित प्रस्ताव र पार्टीका आन्तरिक विषयमा छलफल भएको स्रोतको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस