भाद्र १, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकार सञ्चालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताएका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले संसदसँग गरेको कार्यसम्पादन करार पस्रा गर्न नसकेको बताए।
बजेट कार्यान्वयन सरकारले संसदसँग गरेको कार्यसम्पादन भएको भन्दै उनले त्यो पूरा हुन नसकेकाले प्रधानमन्त्री शासन सञ्चालनको परीक्षामा असफल भएको तर्क गरे।
उनले भने, ‘प्रधानमन्त्री ज्यू, तपाईले मन्त्रीसँग गरेको कार्यसम्पादन करारका बारेमा त औला उठाउनुहोला, मन्त्री फेर्नुहोला । तर जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खै ? हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पूरा भएन प्रधानमन्त्री ज्यू । त्यतिमात्रै होइन संसदले गरेको थियो । कार्यसम्पादन करार अघिल्लो वर्ष । बजेट कार्य सम्पादन करार हो । संसद र सरकारको । पूरा गर्न सक्नुभएन प्रधानमन्त्री ज्यू । यो परीक्षामा असफल भइसक्नुभयो । आउने दिन सफलता प्राप्त होस् शुभकामना व्यक्त गर्छु ।’
एक वर्षमै जहाज र रेलको सपना देखाउने सरकार तिथि मिति तोकेर सत्तापक्षले निम्ता गरेको स्मरण गराउदै उनले अहिले भने आधार वर्ष भनेर आर्थिक वृद्धिको बारेमा हल्का टिप्पणी नगर्न प्रधानमन्त्रीलाई सचेत गराए ।
लोकतन्त्रका लागि सरकार नलडेको र प्रजातन्त्रका लागि लडेकाहरुले सरकार बनाएको दाबी गर्दे उनले एक पल्टको लडाईले जीवनभरी जे पनि गर्न अनुमति नदिने भन्दै लोकतान्त्रिक आचरण देखाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्रीले आफ्नो सम्बोधन मा अर्को चुनाव नभएसम्म सरकार नफेरिने भन्दै सडकमा सरकार उल्टाउने सपना नदेख्न गरेको आग्रहका सम्बन्धमा टिप्पणी गर्दे सांसद रिजालले अर्को चुनावपछि नेपाली कांग्रेसको सरकार बन्ने बताए ।
उनले भने “प्रधानमन्त्रीले भन्नुभयो अर्को चुनाव नभए सम्म यही सरकार रहन्छ । ठिक हो प्रधानमन्त्री ज्यू । यस्तो काम देखेपछि त अर्को पल्ट कांग्रेस बाहेक अरु कसको सरकार बन्छ ? यसपल्ट त यही सरकार भन्दा तरंग सत्तामा गयो गएन मलाई थाहा छैन । शुभकामना छ सत्ता भित्रै कोही तरंगित नभएको होस् । ”