असोज १४, काठमाडौं । कृष्णबहादुर महरालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब सांसदका रुपमा नचिन्ने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले बताएका छन् ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कारको आरोप लगाएकी छन् । आरोपपछि महराले नैतिकताको आधारमा सभामुखबाट राजीनामा दिएका छन् ।
उनी सम्बद्ध सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठकले सभामुखसँगै सांसद पदबाट पनि राजीनामा दिनुपर्ने ठहर गरेकाे थियाे। महराले भने सभामुखबाट मात्रै राजीनामा दिएका छन् ।
महरा प्रकरणबारे सिंहदरबारमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा संसदीय दलका उपनेता नेम्वाङ्गले भनेका छन्, ‘उहाँलाई अब नेकपा संसदीय दलले सांसदका रुपमा चिन्दैन । उहाँ संसदीय गतिविधि तथा दलको बैठकमा सहभागी हुन पाउनु हुने छैन ।’