कार्तिक १९, काठमाडौं । गृह मन्त्री रामबहादुर थापा बादलले संघीयता र कानुन कार्यान्वयनको प्रक्रिया चुनौतीपूर्ण भए पनि ठोस रुपमा अगाडि बढिरहेको बताएका छन् ।
संघीयता र विद्यमान कानुनको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । गृह मन्त्रालय र प्रदेश पाँचको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको मंगलबार उद्घाटन गर्दै मन्त्री थापाले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भए पनि त्यसलाई सरकारले असफल पारेको दाबी गरे । उनले शान्ति सुरक्षाको स्थिति पहिलेभन्दा धेरै सुधार भएको भन्दै अझै सुदृढ हुँदै जाने बताए ।
प्रदेश प्रहरी गठनको प्रक्रिया धेरै अगाडि बढेको बताउदै गृह मन्त्री थापाले प्रदेश प्रहरीको गठन छिट्टै हुने उल्लेख गरे । उनले शान्ति सुरक्षा सुदृढ हुँदै जाँदा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्यलाई समेत टेवा पुग्ने बताए ।
सुरक्षा गोष्ठीमा मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका सुरक्षा निकायका प्रमुखहरु तथा प्रदेशअन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहभागी छन् ।