“सय प्रतिशत विश्वश्त छु, हामी चुनाव जित्छौं”: विद्या भट्टराई

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक २०, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कात्तिक २०, काठमाडौं । ‘सय प्रतिशत विश्वश्त छु, हामी चुनाव जित्छौं’– विद्या भट्टराईले आत्मविश्वाशपूर्वक भनिन्– ‘कास्की–२ हामीले ह्याट्रिक गरेको क्षेत्र हो ।’

कास्की २ मा हुने उपचुनावमा सत्तारुढ नेकपाकी उम्मेदवार बनेकी विद्याले पार्टी केन्द्रीय कार्यालयको एक वार्तामा भनिन्– ‘सरकारले राम्रो काम गर्न सकेको छैन भन्ने प्रचार गरिएको छ र नेकपाका उम्मेदवारहरुलाई चुनौती छ भनिँदैछ । यो सत्य होइन, सरकारले राम्रो काम गरेको छ, नेकपाका उम्मेदवारहरुले आउँदो उपचुनावमा शानदार विजय हासिल गर्नेछन् ।’

प्राध्यापन पेसामा थिइन् विद्या । लगभग रविन्द्र अधिकारी जति नै पूरानो कार्यकर्ता हुन् । अखिलको नेतृत्व तहमा पुगिन् तर अध्यक्ष भने हुन पाइनन् । अखिलको अध्यक्ष पदमा दावी गर्ने हैसियत थियो विद्याको । तर, एउटी महिलाले गृहिणी बनेपछि भोग्नुपर्ने नियति उनले पनि भोगिन् । अर्थात्, परिवार र बालबच्चा समाल्दा राजनीतिको रेल छुट्यो ।

‘म राजनीतिमै थिएँ, राजनीतिबाट कहिले पनि टाढा छुइन । तर, सक्रिय राजनीतिमा थिइँन’– निक्कै आत्मविश्वाशपूर्वक प्रस्तुत भएकी विद्याको वाक्शैली रविन्द्र अधिकारीको भन्दा कम छैन । बौद्धिक त उनी छिन् नै । समाजशास्त्र प्राध्यापन गर्थिन्, अब राजनीतिशास्त्रको मैदानमा उत्रिएकी छिन् । विद्यार्थी पढाउने काम छाडेर जनता पढ्ने काममा लागेकी छिन् ।

पोखराको उपचुनावमा विद्याको भाग्य परीक्षा हुँदैछ, सो उपचुनावमा विद्याको भन्दा पनि सत्तारुढ नेकपाको भाग्य परीक्षा हुनेछ ।

दुखान्त भाग्यले विद्यालाई उम्मेदवार बनाएको हो । पति रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि विद्याले उम्मेदवार बन्नुपरेको हो । राजनीतिमा लगभग हराइसकेको थियो विद्याको नाम । तर, राजनीतिबाट बाहिर चाहिँ थिइनन् । उनको क्षमता प्राध्यापनमा निखारिँदै थियो । उनी नेतृ बनेर बसिनन् तर कार्यकर्ता बन्न पनि छाडेकी थिइनन् ।

‘म काठमाडौंकी छोरी, पोखराकी बुहारी हूँ । काठमाडौं मेरो माइती हो, पोखरा मेरो घर हो’– विद्याले निर्धक्क भनिन् ।

पति रविन्द्र अधिकारी उम्मेदवार बनेका हरेक चुनावमा विद्याको विशेष सक्रियता हुन्थ्यो ।

कुराकानीमा विद्याले सासू–ससुराको पनि प्रसंग निकालिन् । भनिन्– ‘मेरा सासू–ससुराले हिजोका दिनमा रविन्द्रजीलाई अघि बढ्न सहयोग गर्नुभएको थियो । अब मैले रविन्द्रजीको अभियानलाई अगाडि बढाउनु पर्छ भन्ने भनाई पनि उहाँहरुकै हो । त्यही भएर म फेरि राजनीतिमा आएकी छु ।’

‘तीन वर्षको कार्यकालका लागि म निर्वाचित हुँदैछु, यो तीन वर्षमा के गर्ने भन्ने योजना बनाउनु छैन, सबै बनिसकेको छ । बनिसकेका योजनालाई कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्नेमा म लाग्नेछु’– विद्याले भनिन्– ‘रविन्द्रजीका सपना होइन योजना कार्यान्वयन गर्छु ।’

वार्तामा विद्याले चुनाव लड्ने शैलीबारे पनि बताइन् । आदर्श शैलीमा चुनाव लड्ने आफ्नो रणनीति खुलाउँदै उनले भनिन्– ‘म चुनावमा हरेक प्रतिस्पर्धीलाई अत्यन्त सम्मान गर्छु । म कसैलाई पनि कुनै पनि किसिमको आक्षेप लगाउँदिन । नकारात्मक प्रचार पनि गर्दिन । पार्टीका कार्यकर्तालाई पनि आक्षेपको राजनीति नगर्न अनुरोध गर्छु ।’

चुनाव जितेपछि कस्तो जनप्रतिनिधि बन्ने पनि विद्याले बताइन्– ‘म स्वच्छ जनप्रतिनिधि बन्नेछु ।’ (सनराइज खबरकाे सहकार्यमा)

ताजा अपडेट

खोजी गर्नुहोस