आलम प्रकरण : ‘प्रहरीहरू भन्छन्– थाहा थियो तर सबैले उनलाई जोगाए’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २१, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक २१,काठमाडौँ । निलम्बित सांसद मो. अफताब आलम जोडिएको बम विस्फोट र हत्याका घटना भएको तत्कालीन प्रहरी अधिकारीहरूले स्वीकार गरेका छन्।

तर, जबाफदेहिताबाट उनीहरू पन्छिएका छन्। आलमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरीसामु उनीहरूले ‘हो, घटना भएको थियो’, ‘थाहा थियो’, ‘कारबाही गर्नू भनेको थिएँ’ जस्ता उत्तर दिएका छन्।

त्यस बेलाका जिल्ला र इलाका इन्चार्जदेखि केन्द्रैसम्मका प्रहरी अधिकारीमाथि थाहा पाएर पनि कारबाहीको दायरामा नल्याएको प्रश्न उब्जिएको छ। प्रहरीसँगको उनीहरूको बयान यस्तो छ–

‘विस्फोट भएकै हो’
ओमविक्रम राणा, तत्कालीन प्रहरी महानिरीक्षक

विस्फोट सम्बन्धमा अनुसन्धानमा रहेका अधिकृतले घटना विवरण जानकारी गराए। त्यतिखेर बम बिस्फोट भएको देखिन्छ। केही मानिस घाइते भएको र केही मृत्यु भएको भन्ने रिपोर्टिङ भएको थियो भन्ने लाग्छ। त्यस्तो रिपोर्टिङ भएपछि निष्पक्ष रूपमा अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको थिएँ।

पछि जिल्ला प्रहरी कार्यालय रौतहटले पूर्वमन्त्री मो. अफताब आलमसमेतलाई मुद्दा चलाउने रायसहित सरकारी वकिलको कार्यालय, रौतहटमा मिसिल पेस गरेकोमा आलमसमेतका व्यक्ति हाजिर जमानीमा छुटेको भन्ने सुनें।

‘अनुसन्धान गर्न भनेको थिएँ’
किरण गौतम, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक

२०६४ चैत २७ गते बेलुका र २८ गते बिहान रौतहटको राजपुरफरदवामा विस्फोट भई केही व्यक्ति हताहत भएको बुझिन आएको छ भनी तत्कालीन रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी लक्ष्मण न्यौपानेले मलाई जाहेर गरेका थिए।

त्यसपछि घटनास्थलमा तत्काल गई कानुनबमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्नुका साथै अनुसन्धानमा कुनै पनि कसर बाँकी नराखी सक्रियतासाथ गर्नू भनी निर्देशन दिएको थिएँ।

‘एसपीले रोक्नुभयो’
इन्द्रप्रसाद सुवेदी, प्रहरी नायब उपरीक्षक

चैत २७ गते बेलुकी अन्दाजी साढे ६ बजे इलाका प्रहरी कार्यालय, राजपुरबाट चुनावमा सुरक्षार्थ ड्युटीमा निस्कने तयारी गर्दै गर्दा पश्चिम दिशाबाट विस्फोटको ठूलो आवाज आयो। त्यसतर्फ हेर्दा धुवाँको धालो मुस्लो देखें। त्यो स्थान इलाका प्रहरी कार्यालय, राजपुरबाट साढे एक किलोमिटर दूरीमा थियो।

मैले तत्कालै मोबाइल टोलीलाई लिई घटनास्थल जाँदै गर्दा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी लक्ष्मण न्यौपानेले बोलाउनुभयो। अर्को टोली पठाएँ भन्नुभयो।

‘मुद्दा नचलाई छाडियो’
राजीव बस्नेत, प्रहरी नायब उपरीक्षक

मलाई अनुसन्धान अधिकृत तोकियो। मुद्दाका फरार प्रतिवादी सेखलाई २०६५ असार १ गते पक्राउ गरी अनुसन्धान गर्दा प्रतिवादी मो। अफताब आलम, सेख सेराज भन्ने शेष सेराज, मो। मोबिन आलमसमेतका प्रतिवादी संयुक्त निवेदनसहित कार्यालयमा हाजिर भए।

कार्यालय प्रमुखकै आदेशअनुसार सोही दिन बयान लिने सहित अनुसन्धान कार्य सम्पन्न गरियो।

ताजा अपडेट

खोजी गर्नुहोस