कात्तिक २३, काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा कालापानी, लिपुलेकसहितका क्षेत्र सेटिएपछि विरोध चर्किएको छ । नेपाली भूमि भारतले आफ्नो नक्सामा पारेको भन्दै काठमाडौँसहित देशभर विरोध कार्यक्रम भइरहेका छन् ।
यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी विवादबारे छलफल गर्न सर्वदलीय–सर्वपक्षीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक शनिबार दिउँसो चार बजे बालुवाटारमा बस्नेछ । बैठकमा नेपाल र भारतबिचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल हुने जनाइएको छ ।
सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरले नै वार्ता गर्ने तयारी भएकाले त्यसकै लागि प्रधानमन्त्री ओलीले सबैसँग छलफल गर्न बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।
बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायतका राजनीतिक दल, पूर्वपरराष्ट्रमन्त्री तथा नेपाल–भारत सीमाबारे जानकारहरूको सहभागिता हुनेछ ।
भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्शामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भूभाग पारेको भन्दै विरोध भइरहेको छ ।
सत्तारुढ नेकपा निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियू, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस निकटको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले भारतले सार्वजनिक गरेको नक्शाको बिरोध गरिरहेका छन् ।