कार्तिक २४, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकताका बाँकी काम टुंग्याउन मंगलबार सचिवालय बैठक बोलाएको छ।
पछिल्लो पटक आइतबार बसेको नेकपा सचिवालय बैठकले अघिल्लो दिन मन्त्रीपरिषद बैठकले खाली बनाएका प्रदेश प्रमुखहरुको पद पूर्ति गरेको थियो।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बस्ने जानकारी प्राप्त गरे पनि त्यसको समय निश्चित भने भइनसकेको बताए।
मंगलबारको सचिवालय बैठकले नेकपाको अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन गर्ने बुझिएको छ।
पार्टीका एक उच्च नेताका अनुसार आइतबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नेकपाको अनुशासन आयोगको प्रमुखमा पूर्व एमालेको अनुशासन आयोग प्रमुखको हैसियतमा काम गरिसकेका अमृत बोहोरालाई बनाउने सहमति भएको छ।
त्यसबारे पनि बैठकले औपचारिक निर्णय गर्ने बुझिएको छ। अध्यक्ष दाहाल ओलीलाई भेट्न आइतबार दिउँसो बालुवाटार पुगेका थिए र त्यहाँ झन्डै डेढ घन्टा पार्टी एकताका बाँकी कामबारे छलफल भएको थियो।
तर लामो समयदेखि अड्किएको पोलिटव्युरो गठन भने अनिश्चित बनेको छ। पछिल्लो समय विभिन्न जिल्लामा भ्रमण गरेर आएका दाहालले उपनिर्वाचनको माहोलबारे पनि ओलीलाई जानकारी गराएका थिए।